दोहा । उज्वेकिस्तानको नासाफले एएफसी च्याम्पियन्स लिगको नक आउट चरणमा स्थान पक्का गरेको छ । कतारको अल सादसँग २ – २ गोलको नाटकीय बराबरी खेलेपछि समूह ‘बी’ को शीर्ष स्थानमा रहेर नासाफ अन्तिम १६ मा पुगेको हो ।
दोहास्थित जासिम बिन हमाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाँचौँ मिनेटमै माटेअस उरिबको गोलमार्फत अग्रता लिएको थियो । इन्जुरी समयमा अमिन हजबाभीको हेडरले पोस्टको दिशा लिन नसक्दा नासाफ दोस्रो गोल खानबाट जोगिएको थियो । ६८ औं मिनेटमा सादले अर्को अवसरको सदुपयोग गर्न सकेन । खेलको अन्तिम सात मिनेटमा नासाफले दुई गोल गरेपछि साद निराश बनेको हो ।
८३ औं मिनेटमा नासाफका जाबा जिघुरीले हेडर गोल गर्दै खेल बराबरी गरेका थिए । ९० औं मिनेटमा उनैले गोल गरेपछि नासाफ खेलमा अघि रह्यो । इन्जुरी समयमा सादका बाघडाड बुनेदजाहले गोल गरेसंगै खेल २ – २ को बराबरीमा सकिएको थियो ।
नासाफले ६ खेलबाट ११ अंक जोड्यो । दोस्रो स्थानमा रहेको सादको आठ अंक छ । साद उत्कृष्ट दोस्रो टिम हुँदै नक आउट पुग्ने सम्भावना कायमै छ ।
समूह ‘सी’ को खेलमा अल इत्तिहादले इरानको सेपाह माथि २ – १ गोलको जित हात पार्यो । साउदी अरेबियाको मक्कामा भएको खेलमा १४ औं मिनेटमा सलेह अल अमिरीले इत्तिहादका लागि पहिलो गोल गरेका थिए । ४८ औं मिनेटमा रामिनले बराबरी गोल फर्काए ।
६९ औं मिनेटमा जोटाको गोलसँगै इत्तिहादले समूहमा पाँचौ जित हात पारेको हो । सेपाहविरुद्ध करिम बेन्जिमा मैदान उत्रिएका थिएनन् । इत्तिहादले यसअघिनै अन्तिम १६ मा स्थान बनाइसकेको थियो । अल हिलालले पनि नासाजीलाई २ – १ गोलले पराजित गर्यो ।