मेष राशिलाई नयाँ वर्ष २०८२ सालकाे प्रारम्भिक समय उत्साहप्रद रहनेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। कर्मक्षेत्रमा मध्यम उपलब्धि हातलागी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुने ग्रहयोग छ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर वर्षभरि शनिको आद्य साढेसाती चल्ने हुँदा काममा केही अवराेध आउनेछन् र उपलब्धिमा कमी आउनेछ। स्वास्थ्यमा शिर तथा नसा–जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, परिवारमा मतभेद झुटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। खर्चभावमा शनिकाे उपस्थितिले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ, कर्जा बढ्नेछ र खर्च धान्न मुश्किल पर्नेछ। नाेकरी तथा राजनीतिमा समेत केही समस्या आउन सक्छन्। पहिलेका उपलब्धि जाेगाउन अतिरिक्त काम र मेहनत गर्नुपर्ला। राहु जेठदेखि आयभावमा सर्ने हुँदा आयआर्जनका नयाँ स्राेत फेला पर्नेछन्। राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सकिनेछ। केही संघर्ष गर्नुपरे पनि नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र, उपकरण तथा सवारीसाधन जुटाउने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ मनग्य फाइदा हुनेछ। राजनीतिमा गुमेकाे पद–प्रतिष्ठा पुनः प्राप्त हुनेछ। केतुकाे प्रभावले पेटकाे आन्तरिक प्रणालीमा समस्या उत्पन्न गर्ने हुँदा स्वास्थ्यका लागि सदैव सावधान रहनुहाेला। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा लाभ हुनेछ।