+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

अत्रिदेव खबर
२०७९ बैशाख २६, सोमबार

उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन्। कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन्।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका हुन्। प्रारम्भिक चरणको छनोट काठमाडौँमा गरिएको हो। छनोट भएका खेलाडीमा पुरुषतर्फ ७४ किलो तौलसमूहमा सुरेश चुनारा, महिला ५७ किलोतर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भण्डारी तथा महिला ६२ किलो तौल समूहमा निर्मला जाग्री, कोमल खत्री र विमला सुनार छनोटमा परेको प्रशिक्षक चन्दले जानकारी दिए।

सुदूरपश्चिमबाट चार वर्षअघि सुरेश चुनाराले मात्रै एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए। विमला, मनिसा र कोमल कञ्चनपुरबाट कुस्ती खेल्दैआएका छन् सुरेश, निर्मला र शिवाङ्गी हाल त्रिभुवन आर्मी क्लबमा आवद्ध छन्। यस्तै अम्बिका शसस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध छिन्।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन हुने बताइएको छ। “सुदूरपश्चिम कुस्तीका लागि उर्वर भूमि हो”, प्रशिक्षक चन्दले भने, “ तर बिडम्बना न यहाँ कुस्तीको हल छ, न त खेल सामाग्री नै।” अभावका बीच पनि खेलाडीको खेलप्रतिको लगन र मिहेनतका कारण प्रतियोगितामा छनोट हुन सकेको प्रशिक्षक चन्द बताउँछन्।

एसियाली खेलकुदको अनुभव बटुलिसकेका सुरेश चुनाराले नियमित प्रशिक्षण गर्दै आएको बताए। “एसियाली खेलकुद सहभागिताले धेरै सिक्ने मौका मिल्यो”, उनले भने । सुदूरपश्चिमको नौ जिल्लामध्ये कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हुँदै आएको छ।

२०७९ बैशाख २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ