काठमाडौँ : नेपालको चिकित्सा क्षेत्रमा एक ऐतिहासिक र गौरवपूर्ण उपलब्धि हासिल भएको छ। काठमाडौँ मेडिकल कलेजले विश्वमै अत्यन्तै कम देखिने तथा दुर्लभ मानिएको स्नायु सम्बन्धी रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1)’ को नेपालमै पहिलोपटक सफल उपचार गरेको छ। यो सफलताले नेपाली चिकित्सकहरूको क्षमता र यहाँको स्वास्थ्य सेवाको स्तरमा नयाँ उचाइ थपेको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर १ की २१ महिनाकी आध्या विक मा देखिएको यो दुर्लभ रोगको सफल उपचारले उनको परिवारमा मात्र होइन, सिंगो देशमा नै खुसीको लहर ल्याएको छ। प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने आध्या, पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि उनको परिवार चिन्तामा डुबेको थियो।
उपचारका लागि काठमाडौँ मेडिकल कलेज ल्याइएपछि, पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले आध्याको गहन परीक्षण गर्यो। डा. मिश्रका अनुसार परीक्षणपश्चात् आध्यालाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि भएको थियो। यो रोग मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको हुन्छ र विश्वमै निकै दुर्लभ मानिन्छ।
आशाको किरण बने डा. सन्तोष मिश्र
केही हप्ताको अथक उपचारपछि, चमत्कारिक रूपमा आध्या पूर्णरूपमा स्वस्थ भइन् र पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छिन्। छोरीलाई हिँड्न नसक्ने अवस्थामा देख्दा निकै डराएकी आमा मनिषा विकले खुसी हुँदै भनिन्, “छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौँ, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो।”
डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन्। उनको नेतृत्वमा भएको यो सफल उपचारले नेपालमा दुर्लभ रोगहरूको निदान र उपचारमा नयाँ सम्भावनाको ढोका खोलेको छ। यो घटनाले नेपाली चिकित्साकर्मीहरूको विशेषज्ञता र समर्पणको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ, जसले विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ।
२०८२ जेष्ठ ८, बिहिबार