काठमाडौं : रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ।
आफूले न्याय पाउने कुनै आधार नदेखेको भन्दै डा. श्रेष्ठले मृत्यु स्वीकार्न लागेको उल्लेख गर्दै फेसबुकमा भावुक स्टाटस लेखेका हुन्। उनको खोजीका लागि काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन गरिएको छ, तर अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरी स्रोतका अनुसार श्रेष्ठको फोनमा सम्पर्क हुन सकेको छैन भने उनकी पत्नीको फोन पनि उठिरहेको छैन।
श्रेष्ठको फोन ट्र्याक गर्दा उनको अन्तिम लोकेसन काठमाडौंको गोपिकृष्ण हल आसपास देखिएको छ। सोही क्षेत्रबाट उनी सम्पर्कविहीन भएका हुन्। प्रहरीले गोपिकृष्ण आसपासका सम्पूर्ण सीसीटीभी फुटेजहरू संकलन गरी अध्ययन गरिरहेको छ।
डा. श्रेष्ठले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेअनुसार, उनले करारको जागिरबाट सुरु गरी नेपाल प्रहरी हुँदै बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेका थिए। करिब २५ महिना जिल्ला अस्पतालमा सेवा गर्दा १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको उनले बताएका छन्।
उनले लेखेका छन्, “दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागें। म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो।” उनले थप लेखेका छन्, “रामेछाप अस्पतालका कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धमा लगाइ नै राखे पनि म डटेर नै काम गरें। एउटा व्यवस्थित अस्पताल बनाएँ पनि, हरेक कुरालाई सिस्टममा लिएर आएँ।”
श्रेष्ठले रामेछापकै कर्मचारी केदार कार्कीले मागेको पैसा नदिँदा र भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा आफूले कारबाही गरेका डाक्टरहरूलाई प्रयोग गरी झूटा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको आरोप लगाएका छन्।
“बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्न बाध्य बनाइयो,” उनले अगाडि लेखेका छन्, “मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाडी खोसे, हाजिर पनि नगरेकोलाई गाडीमा रामेछाप पठाइयो। मलाई अमानवीय व्यवहार गरेर हेटौंडामा अलपत्र पारे। सरुवा गरिएको छ हेटौंडा अस्पतालमा, तर हाजिर गराइएको छ मन्त्रालयमा। मलाई धेरै दु:ख दिए, अहिले यो दुख/पीडा सहन अनि सोच्न पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाएँ। कतैबाट केही साथ/सहयोग पाउन सकिनँ।”
यस घटनाले स्वास्थ्य क्षेत्रमा हुने कर्मचारी व्यवस्थापन र सरुवाका विषयमा गम्भीर प्रश्नहरू खडा गरेको छ। प्रहरीले डा. श्रेष्ठको खोजी जारी राखेको छ।
हेर्नुस स्टाटस :
२०८२ अषाढ २, सोमबार