+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोनाभाइरसको जोखिम: सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा संक्रमण कायमै, कञ्चनपुरमा एक जनाको अवस्था गम्भीर

अत्रिदेव खबर
२०८२ अषाढ ५, बिहिबार

धनगढी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको पश्चिमी नाका गड्डाचौकी हुँदै फर्कनेहरूमा कोभिड-१९ (कोरोनाभाइरस) को जोखिम कायम रहेको पाइएको छ। हालै भारतको हल्द्वानीबाट फर्केका बर्दियाका एक जनाको अवस्था गम्भीर देखिएपछि उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। सीमानाकामा रहेको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा उनको नतिजा पोजिटिभ आएको थियो।

सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र रुघाखोकी जस्ता लक्षणहरू देखिएका थिए। एन्टिजेन परीक्षण पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिँदैछ। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बिहानको तुलनामा बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन्। कोरोना संक्रमण बढ्न थालेपछि आइसोलेसनमा राखेर उपचार भइरहेका उनी हालका दिनमा पहिलो बिरामी हुन्।

भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले मास्कको प्रयोग बढाउन, स्यानिटाइजरको प्रयोग गर्न र अन्य स्वास्थ्यसम्बन्धी सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ। समुदायस्तरमा संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिहरूलाई क्वारेन्टिन वा होम आइसोलेसनमा इमानदारितापूर्वक बस्न सुझाव दिइएको छ।

भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा हेल्थ डेस्क मार्फत शंकास्पद बिरामीहरूको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। यी हेल्थ डेस्कहरू कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका छन्। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्दै आएका छन्।

गत जेठ २१ गतेदेखि असार ४ गतेसम्मको अवधिमा सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १६ जना निको भइसकेका छन् भने सात जना होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्।

२०८२ अषाढ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ