+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“न्यु स्टारमा बुक फ्री डे : योगिनी सरितानन्दी बाट जीवनदर्शन, संस्कार र व्यवहारिक शिक्षाको प्रेरणा

अत्रिदेव खबर
२०८२ बैशाख ३१, बुधबार

सुखड :  शिक्षा केवल किताबी ज्ञानमा सीमित नहोस्, जीवनलाई अर्थपूर्ण बनाउने मूल्य, संस्कार र व्यवहारिक पक्षको समेत समुचित संयोजन होस् भन्ने उद्देश्यले घोडाघोडी नगरपालिका–१ स्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले निरन्तर तीन दशकदेखि संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

यसै शृंखलामा विद्यालयले प्रत्येक महिनाको अन्तिम दिन विशेष ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत यसपटक विद्यालय परिसरमा एक दिवसीय जीवनदर्शनमूलक प्रवचन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दी ज्यूले जीवनको सार, संस्कारको महत्व, व्यवहारिक शिक्षाको आवश्यकता र पूर्वीय दर्शनको गहिरो व्याख्या गर्दै बिद्यार्थीहरूलाई आत्मचिन्तन र सम्यक मार्गको प्रेरणा प्रदान गर्नुभयो।

योग, ध्यान, नैतिक शिक्षादेखि लिएर अभिभावक र शिक्षक अभिमुखीकरणसम्मका विषयमा आफ्नो विशद अनुभव समेट्दै उहाँले बिद्यार्थीलाई केवल प्रतियोगी नभई चरित्रवान नागरिक बन्न आग्रह गर्नुभयो। उहाँका शब्दहरूमा रहेको आत्मीयता, मौलिकता र आध्यात्मिक ऊर्जाले सहभागी सबैको अन्तरमनमा नयाँ चेतनाको सञ्चार गरायो।

विद्यालयका संस्थापक प्रिन्सिपल श्री परशुराम भण्डारीका अनुसार, “हामी बिद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनलाई बुझ्ने आँखा पनि दिन चाहन्छौं। आजको प्रवचन कार्यक्रम त्यसको एउटा महत्वपूर्ण पाइलो हो।”

यस प्रकारका कार्यक्रमले बिद्यार्थी मात्र होइन, अभिभावक, शिक्षक र समग्र समाजमा नै सकारात्मक तरङ्ग फैलाउने कार्य गर्छ। आजको जटिल सामाजिक परिदृश्यमा जब बालबालिकाले सानै उमेरदेखि नै नैतिकता, संयम, करुणा, अनुशासन र विवेकजस्ता जीवनमूल्य आत्मसात गर्छन्, तब त्यो समाजमा समुन्नति र शान्तिको उज्यालो फैलिन्छ।

न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलको यो प्रयास केवल एक शैक्षिक गतिविधि नभएर समाज रूपान्तरणको यात्रामा एक गहकिलो चरण बनेको छ। संस्कार र शिक्षाको समुचित समिश्रणले निर्माण गरेको यस्तो कार्यक्रम आजका पुस्ताका लागि दीप बनेर जलेको छ।

२०८२ बैशाख ३१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख ३१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ