सुखड: न्यु स्टार इङ्लिस बोर्डिङ स्कुल, सुखड, घोडाघोडी नगरपालिका वडा नं. १ मा सञ्चालित न्यु स्टार स्काउट ट्रुपले साहसिक गतिविधिमा आधारित एक दिने “Scout Adventure Trip” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्यता घोडाघोडी नगरपालिकाका नगर प्रमुख एवम् स्थानीय स्काउट संरक्षक श्री खडक बहादुर रावतले गर्नुभएको थियो। उक्त कार्यक्रम कैलाली जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडा क्षेत्रमा मिति बैशाख २९ गते सम्पन्न भएको हो।
न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलले बालबालिकालाई अनुशासन, आत्मनिर्भरता, साहस र नेतृत्वदायी क्षमतामा विकास गर्न सधैं अग्रसर रहँदै आएको छ। संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पिआर) का अनुसार, ‘गुणस्तरीय शिक्षा र संस्कारको संयोजन न्यु स्टारको प्राथमिकता हो, र स्काउटिङ्गले विद्यार्थीमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ।’
कार्यक्रमका क्रममा स्काउटहरुले खोजका सङ्केत प्रयोग गर्दै ४ किलोमिटर पदयात्रा गरेका थिए। पदयात्राका क्रममा भेटिएका जडिबुटी, बनजंगल, चराचुरुङ्गीका आवाज, पातहरु, पाईलाहरुको अध्ययन तथा टिपोट गरी अनुसन्धानात्मक यात्रा सम्पन्न गरेका थिए। साथै, नेट क्लाइम्बिङ, कमान्डो ब्रिज, क्रोलिङ लगायतका साहसिक गतिविधिहरुमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रह्यो।
गौरीगङ्गा नगरपालिकाका स्थानीय स्काउट प्रमुख आयुक्त श्री पुष्कर अवस्थी, नेपाल स्काउट घोडाघोडी नगर परिषद सदस्य सराधुराम चौधरी, धनगढी उपमहानगरपालिका ओपन स्काउट क्रयुका रोभर लिडर डिल्लीराज भट्ट, कान्ति स्काउट क्रयुकी रेन्जर कमला रावल लगायतले कार्यक्रमको सफल सहजीकरण गर्नुभएको थियो।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्यता वृद्धि आयुक्त श्री भीमराज अम्मैले साहसिक यात्राले विद्यार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्काउट मास्टर श्री टिका खड्काको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। हाइक लिडरको रूपमा कान्ति स्काउट क्रयुका रोभर स्काउट श्री सागर अवस्थीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले एडभेन्चर ट्रिपको अनुभव साझा गर्दै मनोबल वृद्धि भएको र यस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साहसिक गतिविधि पश्चात सहभागीहरुले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए। उत्कृष्ट पेट्रोललाई विशेष सम्मान प्रदान गरिएको थियो।