+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

अत्रिदेव खबर
२०८१ अषाढ २, आईतबार


भवानी भट्ट / कञ्चनपुर —डडेलधुराको परशुराम नगरपालिका–७ मलासकी कलसी धामीको बारीमा थरिथरीका फलफूल पाकेका छन् । बारीमा रोपेको अम्रिसोको कुच्चो पनि बनाउँछिन् । फलफूलदेखि कुचो बिक्री गर्न भने उनले तीन/चार घण्टा हिँडेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार पुग्नुपर्छ ।

सातामा दुई/तीन पटक चुरे जंगलको बाटो भएर उनी अम्रिसोको कुचो, घिउ, मह, आरु, काफललगायत बोकेर महेन्द्रनगर बजार पुर्याउँछिन् । त्यसको आम्दानीले घरका लागि चाहिने नुनतेल, साबुन, दालचामललगायतका बस्तु किनेर लैजान्छिन् । यो सबै काम गरेर फर्किदा साँझ नै पर्छ । ‘झिसमिसेमै घरबाट हिँडेपछि मात्रै यहाँ नौ/दश बजे पुग्न सकिन्छ,’ धामीले भनिन्, ‘दिनमा सबै सामान बिक्री गरी घरका लागि किनमेल गरेर साँझ फर्किन्छौं ।’

धामीझैं मलास क्षेत्रका बासिन्दाले आफ्नो उत्पादन बिक्री गर्न महेन्द्रनगर पुग्नुपर्छ । फलफूल उत्पादन गर्नेहरु सातामा दुई/तीन पटक र घिउ तथा मह उत्पादन गर्नेहरु एक पटक महेन्द्रनगर पुग्छन् । परशुराम नगरपालिकामा पर्ने मलास क्षेत्रमा फाटफुट रुपमा सवारी साधन चल्ने गरेका छन् । तर तिनको भाडा निकै चर्को छ । चुरे क्षेत्रको बस्ती मलासबाट महेन्द्रनगरसम्म २०/२२ किलोमिटरको एकतर्फी ३ सय रुपैयाँ भाडा पर्छ । आफ्नो उत्पादन बेचेर हुने आम्दानीले दुईतर्फी ६ सय रुपैयाँ गाडीको भाडा व्यहोर्नै ठिक्क हुँदा उनीहरु प्रायः पैदलै आउजाउ गर्छन् । बर्खामा भने पैदल हिँड्न पनि मुस्किल हुने गरेको छ । ‘बर्खा नलागेसम्म बारीका फलफुल बेचेर नुनतेल, पिठोचामलको व्यवस्था गर्छौ,’ मलासका कृष्ण धामीले भने, ‘बर्खा लागेपछि त बाटोघाटो सबै बन्द हुन्छ ।’ अहिले व्यवस्थापन गर्न नसके बर्खामा निकै समस्या हुने उनले बताए । मलासमा खुर्सानी, अदुवा, काक्रा, फर्सी, अमिलोलगायत तरकारी र फलफूल उत्पादन हुन्छन् ।

मलासबाट डोकामा फलफुल तथा अन्य उत्पादन बोकेर लैजाने र त्यहि बिक्री गरेर घरायसी सामान ल्याउने पुरानै चलन हो,’ परशुराम नगरपालिका–७ का वडाध्यक्ष कर्णबहादुर धामीले भने, ‘गाउँमा सबै ठाउँमा सडकको ट्रयाक त खुलेको छ, तर स्तरोन्नति नहुँदा नियमित रुपमा सवारी साधन चल्न सकेका छैनन् ।’ उनका अनुसार फाटफुट चल्ने सवारी साधनको भाडा चर्को भएका कारण स्थानीय पैदलै आउजाउ गर्ने गरेका हुन् ।

मलासकै प्रेम कामीका छोरा जीवनको मुटु सम्बन्धी बिरामी छन् । उनको भारतको दिल्लीमा उपचार भइरहेको छ । छोराको रेखदेखका लागि प्रेम नियमित रुपमा दिल्ली आउजाउ गरिरहेका छन् । एक महिनादेखि दिल्लीमा उपचाररत छोराका लागि खर्चको व्यवस्थापन गर्न समेत निकै समस्या भएको छ । ‘बरामी हुँदा पनि यहि बाटो हो हामीले हिँड्ने हो,’ कामीले भने, ‘यो पनि बर्खामा बन्द हुन्छ ।’ उनी दिल्ली आउजाउ गर्न यहीँ बाटो हिँड्छन् । अध्यक्ष धामीका अनुसार वडा ७ मा पर्ने गैरीखान, कसान, मलास, लामीडाडा, बड्डीमलास लगायतका क्षेत्रमा सडकको ट्र्याक खुलेको छ । उक्त क्षेत्रमा एक/दुई जनाले व्यक्तिगत रुपमा गाडीहरु चलाउँछन् । त्यो पनि नियमित छैन । बर्खामा त सडक अवरुद्ध हुने भएकाले फाटफुट चल्ने सवारीसाधन पनि बन्द हुछन् ।

२०८१ अषाढ २, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ