+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यक्तिपूजाको खतरा: लोकतन्त्र कि तानाशाहीको बाटो?

टेकराज आचार्य
२०८२ चैत्र ४, बुधबार

कैलाली :  नेपाली राजनीतिको पछिल्लो परिदृश्यमा देखिएका नयाँ पात्र र प्रवृत्तिहरूले परम्परागत राजनीतिक संस्कारमाथि प्रश्न मात्र उठाएका छैनन्, नयाँ सोच र अभ्यासको संकेत समेत दिएका छन्। जनताप्रतिको उत्तरदायित्व, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने प्रवृत्ति र नेतृत्वको परिपक्वताले आजको राजनीतिलाई फरक दिशातर्फ मोड्न सक्ने संकेत देखिएको छ।
यसै सन्दर्भमा रवि लामिछाने को भूमिकालाई एउटा महत्वपूर्ण उदाहरणका रूपमा लिन सकिन्छ।

एउटा राजनीतिक दलको शीर्ष नेतृत्वमा रहेका व्यक्तिले आफ्नै आकांक्षालाई पछाडि राख्दै अर्को सक्षम पात्रलाई देशको नेतृत्वका लागि अघि सार्नु नेपाली राजनीतिक अभ्यासमा दुर्लभ मानिन्छ। बालेन्द्र शाह (बालेन) जस्ता नयाँ पुस्ताका ऊर्जावान् पात्रलाई सम्भावित नेतृत्वका रूपमा अघि सार्ने कदमले ‘पदभन्दा देश ठुलो’ भन्ने सन्देश दिएको छ।

यद्यपि, राजनीतिमा केवल व्यक्तिगत लोकप्रियता पर्याप्त नहुने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ। कुलमान घिसिङ जस्तो जनप्रिय र कार्यकुशल व्यक्तित्वले बनाएको छवि उल्लेखनीय भए पनि, संगठित राजनीतिक संरचनाको अभावमा चुनावी सफलता हासिल गर्न कठिन हुने यथार्थ स्पष्ट देखिएको छ। यसले व्यक्ति मात्र होइन, बलियो संगठन र संरचनाको आवश्यकता अपरिहार्य रहेको संकेत गर्छ।

उता, हर्क साम्पाङ ले श्रम र समर्पणका माध्यमबाट जनतामाझ आफ्नो पहिचान स्थापित गरेका छन्। तर, राजनीतिक विस्तारको क्रममा देखिएको आक्रामक अभिव्यक्ति र कटु आलोचनाले जनसमर्थनलाई दीर्घकालीन रूपमा कायम राख्न चुनौती उत्पन्न गर्न सक्छ भन्ने संकेत हालका परिणामहरूले दिएका छन्। जनताले अब कामसँगै शिष्टता, संवाद र सहकार्यको अपेक्षा गर्न थालेका छन्।

राजनीति केवल अंकगणितीय खेल मात्र नभई जनभावना, निष्ठा र त्यागसँग जोडिएको जटिल प्रक्रिया हो। विश्लेषकहरूका अनुसार, आजको नेपालले कुनै एक व्यक्तिमा सीमित नभई बहुआयामिक गुणहरू भएको नेतृत्व खोजिरहेको छ। जसमा बालेन्द्र शाह को ऊर्जा, रवि लामिछाने को त्याग, कुलमान घिसिङ को कार्यक्षमता र हर्क साम्पाङ को श्रमशीलता समावेश छन्।तर, यी सबैबीच एउटा गम्भीर चिन्ताको विषय पनि उब्जिएको छ । व्यक्तिको अति-देवत्वकरण। कुनै पनि नेतालाई आलोचनाभन्दा माथि राख्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने जोखिम रहन्छ। विशेषगरी बालेन्द्र शाह को लोकप्रियता सन्दर्भमा देखिएको अति-समर्थनले आलोचनात्मक चेतनालाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

विशेषज्ञहरू भन्छन्, आलोचना रहित नेतृत्व अन्ततः उत्तरदायित्वहीन बन्न सक्छ, जसले दीर्घकालीन रूपमा तानाशाही प्रवृत्तिलाई प्रोत्साहन दिन सक्छ। लोकतन्त्रको मूल मर्म भनेकै नागरिकले व्यक्तिलाई होइन, उसका नीति, विचार र कार्यशैलीलाई समर्थन गर्नु हो। यसै क्रममा रवि लामिछाने को नेतृत्वशैलीलाई पनि परिपक्वताको दृष्टान्तका रूपमा हेरिएको छ। व्यक्तिगत महत्वाकांक्षाभन्दा संगठन र विधिलाई प्राथमिकता दिने उनको दृष्टिकोणले नेपाली राजनीतिमा नयाँ संस्कारको संकेत गरेको विश्लेषण गरिन्छ।

वर्तमान राजनीतिक अवस्थाले स्पष्ट सन्देश दिन्छ । देशलाई अगाडि बढाउन केवल जोस मात्र पर्याप्त छैन, त्यसलाई सही दिशा दिने होस पनि उत्तिकै आवश्यक छ। ऊर्जा, त्याग, संगठन र उत्तरदायित्वबीचको सन्तुलन नै आजको राजनीतिको प्रमुख आवश्यकता बनेको छ।

२०८२ चैत्र ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र ४, बुधबार

लेखकको बारेमा

टेकराज आचार्य

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ