कंचनपुर: कंचनपुर निर्वाचन क्षेत्र–१ को चुनावी माहोल एकाएक तरंगित बनेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का आधिकारिक उम्मेदवार देपेन्द्र बहादुर शाही नै आफ्नो दल परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
शाहीसँगै प्रलोपा जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता नेकपामा समाहित भएका हुन्। केही दिनअघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीको यो निर्णयले क्षेत्रको राजनीतिक समीकरण नै फेरिएको विश्लेषण भइरहेको छ।
बुधबार आयोजित कार्यक्रममा शाहीले अब आफूहरूको प्राथमिकता एउटै भएको स्पष्ट पारे—कञ्चनपुर–१ बाट नेकपाकी उम्मेदवार बीना मगरलाई जिताउने। उनले मत विभाजन गरेर शक्ति कमजोर बनाउनु उचित नहुने भन्दै वाम शक्तिहरू एकताबद्ध हुनुपर्ने तर्क गरे।
प्रलोपा केन्द्रीय सदस्य समेत रहेका अमर सिंह विष्टले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा देश र परिवर्तनको एजेन्डा जोगाउन नेकपाको विकल्प नरहेको बताए। “अबको लडाइँ व्यक्तिको होइन, विचार र स्थायित्वको हो,” उनले भने।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य जीवन थापाले चुनाव नजिकिँदै जाँदा जनलहर स्पष्ट हुँदै गएको दाबी गर्दै बीना मगरको पक्षमा समर्थन बढ्दो क्रममा रहेको बताए। समाहित भएका नेता–कार्यकर्तालाई बीना मगरसहितका नेताहरूले स्वागत गरेका थिए।
राजनीतिक वृत्तमा यस घटनालाई ‘निर्णायक मोड’ का रूपमा हेरिएको छ। महिला नेतृत्वलाई बलियो बनाउँदै बीना मगरको पक्षमा खुलेर उभिने शाहीको प्रतिबद्धताले कञ्चनपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
२०८२ फागुन १२, बुधबार