कञ्चनपुर : आसन्न प्रतिनिधिसभा निर्वाचनसँगै कञ्चनपुर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। ठूला दलका स्थापित अनुहारहरू मैदानमा उत्रिएकाले यस क्षेत्र सुदूरपश्चिमकै चासोको केन्द्र बनेको छ। मतदाताबीच यसपटक पार्टीभन्दा पनि उम्मेदवारको काम, अनुभव र विकासप्रतिको दृष्टिकोणलाई आधार बनाएर मूल्याङ्कन गर्ने प्रवृत्ति देखिएको छ।
यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ बिना मगर चुनावी बहसको केन्द्रमा देखिएकी छन्। विद्यार्थी राजनीतिबाट उदाएकी उनी संघर्षशील, स्पष्ट वक्ता र विकासप्रेमी नेतृका रूपमा स्थापित भइसकेकी छिन्। यसअघि यही क्षेत्रबाट निर्वाचित भई संघीय सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले देखाएको सक्रियता र कार्यशैली अहिले पनि मतदाताले स्मरण गरिरहेका छन्। खानेपानी जस्तो आधारभूत आवश्यकतासँग जोडिएको मन्त्रालयको नेतृत्व गर्दै उनले देशभर शुद्ध खानेपानी पहुँच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिन्। मेलम्ची खानेपानी आयोजनालाई गति दिनेदेखि ग्रामीण तथा सुदूरपश्चिमका दुर्गम बस्तीमा खानेपानी आयोजना विस्तार गर्ने काममा उनको पहल प्रभावकारी मानिन्छ। नीतिगत सुधार, आयोजना कार्यान्वयन र जनताको प्रत्यक्ष पहुँचमा सुधार ल्याउने प्रयासका कारण उनलाई धेरैले ‘काम गर्ने मन्त्री’ का रूपमा सम्झने गरेका छन्।
स्थानीय स्तरमा समेत बिना मगरको छवि जनतासँग घुलमिल हुने, समस्या सुन्ने र समाधान खोज्ने नेतृका रूपमा बनेको छ। महिला नेतृत्वलाई सशक्त रूपमा स्थापित गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्। यही अनुभव, आत्मविश्वास र विकासप्रतिको प्रतिबद्धताले उनलाई यसपटक पनि बलियो दाबेदारका रूपमा उभ्याएको छ।
उता नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका तारा लामा तामाङ हालका सांसद भए पनि उनको कार्यकाललाई लिएर मतदाताबीच मिश्रित प्रतिक्रिया सुनिन थालेको छ। सांसद हुँदा कञ्चनपुर–१ मा उल्लेखनीय र दीर्घकालीन प्रभाव पार्ने ठूला विकास आयोजना नदेखिएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन्। अपेक्षित गतिमा काम अघि बढ्न नसकेको र जनतासँगको प्रत्यक्ष सम्पर्क कमजोर भएको टिप्पणीहरू पनि बढ्दै गएका छन्। यसले गर्दा उनी स्थिर राजनीतिज्ञका रूपमा चिनिए पनि आक्रामक विकास पहल गर्ने नेताको छवि बनाउन नसकेको चर्चा भइरहेको छ।
यसपटकको चुनावमा मतदाताको मनोविज्ञान पनि परिवर्तन हुँदै गएको देखिन्छ। केवल पार्टीको झण्डाभन्दा पनि कसले कति काम गर्यो, कसले विकासको स्पष्ट खाका प्रस्तुत गर्यो र कसले जनताको आवाज प्रतिनिधित्व गर्न सक्छ भन्ने प्रश्न नै निर्णायक बन्दै गएको छ। यही सन्दर्भमा बिना मगरको मन्त्रीकालीन उपलब्धि, अनुभव र सक्रियता उनको सबैभन्दा ठूलो बल बनेको छ।
कञ्चनपुर–१ मा प्रतिस्पर्धा कडा रहे पनि यो निर्वाचन विकास र नेतृत्व क्षमताको परीक्षणजस्तै बनेको छ। अदम्य साहस, स्पष्ट दृष्टिकोण र कामको आधारमा अघि बढेकी बिना मगर र अपेक्षित प्रभाव देखाउन नसकेको आरोप खेपिरहेका तामाङबीचको यो भिडन्तले अन्ततः मतदातालाई नयाँ ऊर्जा रोज्ने कि पुरानै स्थिरतामा रहने भन्ने छनोटको मोडमा उभ्याएको छ।
२०८२ माघ २९, बिहिबार