काठमाडौं: युरोपेली फुटबलको अनुभव सँगालेकी चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाली राष्ट्रिय महिला फुटबल टोलीको ११औं कप्तान बनेकी छन्। मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नेपालको १०० औं अन्तर्राष्ट्रिय खेलको अवसर पारेर उनलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पेका हुन्। यसअघि सन् २०१९ देखि नेपाली टोलीको कप्तानी गर्दै आएकी एञ्जिला तुम्बाप्पो सुब्बालाई विश्राम दिँदै साम्बालाई यो अवसर दिइएको हो।
एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलबाट साम्बाले कप्तानको रूपमा डेब्यु गरिन्। उनको डेब्यु खेल नै ऐतिहासिक र सनसनीपूर्ण रह्यो। नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गर्दा साम्बा एक्लैले ५ गोल गर्दै आफ्नो नेतृत्व क्षमता र गोल गर्ने खुबी एकैसाथ प्रमाणित गरिन्। उनको यो प्रदर्शनले प्रशिक्षकको विश्वासलाई थप बल पुर्याएको छ।
सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्रा त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर हुन् र उनलाई ‘गोल मेसिन’ को उपमासमेत दिने गरिन्छ।
नेपालमा मात्रै नभई दक्षिण एसियामै उत्कृष्ट खेलाडीको रूपमा परिचित साम्बाको यात्रा युरोपसम्म फैलिएको छ। उनी युरोपेली लिग खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन्। सुरुमा इजरायलको हापोयल रानानाबाट युरोपेली लिग खेलेकी उनी हाल फ्रान्सको महिला फुटबल क्लब एना भान गुइनगाम्पमा आबद्ध छिन्। युरोपियन लिगमा समेत उनको प्रदर्शन उत्कृष्ट रहेको छ।
घलेगाउँबाट राष्ट्रिय टोलीको कप्तानसम्म
सानैदेखि खेलकुदमा रुचि भएकी साम्बाका लागि २०७१ सालमा लमजुङकै घलेगाउँमा भएको फुटबल प्रतियोगिता ‘टर्निङ प्वाइन्ट’ बन्यो। उक्त प्रतियोगितामा सर्वाधिक ९ गोल गर्दै उनले सबैको ध्यान खिचिन्। उनको खेलबाट प्रभावित राष्ट्रिय रेफ्री शुक्र लामाले उनलाई सशस्त्र प्रहरी बल (एपीएफ) मा जोडिने मौका मिलाइदिए।
काठमाडौं आएर एपीएफमा प्रशिक्षण थालेको तीन महिनामै उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाइन्, जसले उनको चर्चा झनै चुलियो। भारतीय महिला लिगमा समेत शानदार प्रदर्शन गरेकी साम्बा युरोपियन लिग हुँदै अन्ततः राष्ट्रिय टोलीको कप्तानसम्म आइपुगेकी छिन्। उनको नाममा थुप्रै कीर्तिमान कायम छन्। उनको सम्मानमा लमजुङमा ‘साम्बाचोक’ नामकरण गरी ‘साम्बा स्तम्भ’ समेत निर्माण गरिएको छ, जसले राष्ट्रिय फुटबलमा उनको योगदानलाई सधैँ स्मरण गराउनेछ।
२०८२ अषाढ १६, सोमबार