धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफू धनगढीस्थित निवास छाडेर अन्यत्र सरेको भन्ने समाचार झूटो भएको बताएका छन्। उनले निवासमा मर्मतसम्भारको काम चलिरहेकाले केही दिनदेखि त्यहाँ नबसेको स्पष्ट पारेका छन्।
अत्रीदेव खबरमा प्रकाशित आफूले परराष्ट्र मन्त्री तथा आफ्नी ठूलो आमा आरजु राणा देउवाको धनगढीस्थित निवास छाडेको भन्ने समाचारप्रति देउवाले ध्यानाकर्षण भएको बताए। प्रदेश सरकारले बजेट ल्याएपछि आफू काठमाडौँ आएको र निवासमा मर्मतसम्भार भइरहेकाले आफू त्यहाँ नभेटिँदा गलत हल्ला फैलिएको हुन सक्ने उनको भनाइ छ।
“यो कुरामा कुनै कोणबाट पनि सत्यता छैन। मैले निवास छाडेको होइन,” देउवाले दाबी गरे, “स्पेस कम भएकाले मर्मत सम्भार गर्ने कुरा भयो। अहिले चलिरहेको छ। म काठमाडौँमा भएकाले मान्छेहरूलाई त्यस्तो परेको हुनसक्छ।”
आरजु राणा देउवासँग राजनीतिक असमझदारी वा खटपटका कारण आफू त्यहाँबाट सरेको भन्ने कुरामा पनि सत्यता नभएको देउवाको भनाइ छ। यसअघि कैलालीस्थित सुरक्षा स्रोतले देउवाले निवास छाडेको पुष्टि गरेपछि अत्रीदेव खबरले समाचार प्रकाशन गरेको थियो। हाल उक्त घरमा रेखदेखका लागि राखिएका पदम सापकोटा मात्र बस्ने गरेको सुरक्षा स्रोतले जनाएको छ।
२०८२ अषाढ ११, बुधबार