पहलमानपुर : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, पहलमानपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा समितिले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि एक वृहत विकास योजना प्रस्ताव गरेको छ। वडा समितिका अध्यक्ष चन्द्र बहादुर सिंह र सचिव नारायण सिंह मेहराले पहलमानपुर स्थित वडा नम्बर १० को कार्यालयमा वडा अध्यक्षलाई बुझाएको यो योजनाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, कृषि/पशु र विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा पहलकदमी लिने लक्ष्य राखेको छ।
शिक्षा क्षेत्रमा विशेष जोड
योजना अनुसार, बुलबुले बहुमुखी क्याम्पसमा ICT ल्याब निर्माण गरिनेछ जसमा स्मार्ट बोर्ड, दुई वटा ल्यापटप र तीन वटा प्रोजेक्टर खरिद गरिनेछ। यसका साथै, धुननिभाकलको प्रभात बाल विकासको छाना मर्मत र फल्स सिलिङ्ग निर्माण गरिनेछ। भैबेमा रहेको क्षितिज बाल विकासको भौतिक संरचना निर्माणका लागि सार्वजनिक जग्गाको खोजतलास र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ।
स्वास्थ्य सेवा विस्तार
पहलमानपुर आधारभूत स्वास्थ्य केन्द्रको समयानुकुल स्तरोन्नति गर्ने र पहलमानपुर बजार क्षेत्रमा पोर्टेबल शौचालयको व्यवस्था गर्ने योजनामा उल्लेख छ। भूकम्प पीडित सा.व.स.को धारा परिसरमा खुला व्यायामशाला निर्माण र व्यवस्थापन पनि गरिनेछ।
भौतिक पूर्वाधारमा व्यापक सुधार
सडक निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ। कोल्ड स्टोर चोक देखि पश्चिम जलकुण्डी जाने बाटो कालोपत्रे गरिनेछ। यस्तै, राम प्रसाद भण्डारीको घर देखि अधिकारीको घरसम्मको बाटो धुननिभाकलमा कालोपत्रे गरिनेछ। दक्षिण/पश्चिम आमखोडिया कैलाबोबाट पानी करणी दानीको घर जाने बाटोमा कल्भर्ट निर्माण गरिनेछ। घोडाघोडी नगरपालिका वडा नं. १० रानीफिरोखमा रहेको एक मात्र पिकनिक स्थल ‘बुलबुले पिकनिक स्पोट’ को विकासमा विशेष पहल गरिनेछ।
पहलमानपुर प्रहरी चौकीको सही व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्थापन गरिनेछ भने वडा नं. १० भित्रका विभिन्न टोलहरुमा रहेका असुरक्षित विद्युतीय पोलको सही व्यवस्थापन तथा लाइन भूमिगत गरिनेछ। आमखोडिया सुजना बस्तीमा रहेको अस्थायी काठे पुललाई व्यवस्थित पारि कल्भर्ट निर्माण गरिनेछ। गौरीगंगाको शिवपुर र घोडाघोडीलाई आमखोडिया जोड्ने बाटोमा ग्राभेल गरिनेछ।
खेलकुदको प्रवर्द्धन
खेलकुद क्षेत्रको दिगो विकासका लागि युवा व्यवसायी तथा समुन्नत समाज निर्माणका लागि वडा भित्र रहेका सक्रिय युवा क्लब तथा युवतीका लागि वार्षिक बजेटको व्यवस्था गरिनेछ। साथै, वडा सार्वजनिक खेल मैदानको व्यवस्थापनका लागि पनि बजेट छुट्याइनेछ।
कृषि र पशुपालनमा आधुनिकीकरण
चौपायाको कारण हुने दुर्घटना लगायत खेतीयोग्य जग्गामा पशुले गर्ने क्षतिको व्यवस्थापनका लागि सामुदायिक वन समूहको साझेदारीमा स्थानीय तह र उपभोक्ताको सहयोगमा आवश्यक व्यवस्था गरिनेछ। पहलमानपुर बजारमा सञ्चालित हाट बजारको लागि दिगो स्रोतको व्यवस्थापन गरिनेछ। कैलाली जिल्लामा रहेको एक मात्र कोल्ड स्टोरको दिगो विकास र व्यवस्थापनका लागि पहल गरिनेछ।
विपद् व्यवस्थापन र रोजगार सिर्जना
पहलमानपुर बजारका विभिन्न क्षेत्रहरुमा सिँचाइ र खानेपानीको व्यवस्था गरिनेछ। जोखिम युक्त क्षेत्रहरुमा बाढी र डुबान जस्ता विपद्बाट बच्न पूर्व तयारी र सचेतनाका लागि स्रोतको व्यवस्था गरिनेछ। वडा स्तरबाट विभिन्न समयमा प्रदान गरिने सिपमूलक तालिमहरु र परम्परागत सिपको संरक्षण गरी रोजगार सिर्जना गर्ने प्राविधिक हस्तान्तरणका लागि पनि बजेट छुट्याइनेछ।
यो विस्तृत योजनाले घोडाघोडी नगरपालिका वडा नम्बर १०, पहलमानपुरको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
२०८२ अषाढ ८, आईतबार