+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले आज नेदरल्यान्ड्सविरुद्ध टी-२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दै

अत्रिदेव खबर
२०८२ अषाढ २, सोमबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै टी-२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले टिटवुडको ग्लासगोमा नेपाली समयअनुसार राति पौने ८ बजे डच टोलीसँग भिड्नेछ। नेपाल नेदरल्यान्ड्सलाई हराउँदै सिरिजमा सुखद् सुरुवात गर्ने योजनामा छ।

टोलीको मनोबल उच्च:

यसअघि सम्पन्न आईसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजका दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ। लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ५ विकेटले र दोस्रो खेलमा १६ रनले हराएको थियो। यस्तै, स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने २ रनले पराजित भएको थियो।

उता, पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको नेदरल्यान्ड्स पनि पहिलो जित हासिल गर्ने दाउमा छ।

नेपाली टोलीमा परिवर्तन:

टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली बनाएको छ। टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह थपिएका छन्। टी-२० का लागि आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने टोलीबाट दुई खेलाडी परिवर्तन गरिएका छन्। लिग-२ मा नेदरल्यान्ड्सविरुद्ध खेलेका सोमपाल कामी र गुल्सन झा चोटका कारण टी-२० सिरिजमा सहभागी हुन नसक्ने भएका हुन्।

नेपाली टोलीका सदस्यहरूमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख रहेका छन् ।

२०८२ अषाढ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ