काठमाडौँ : भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयासहरू निष्कर्षविहीन देखिएका छन्। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पठाएको ५ बुँदे प्रस्तावमाथि कुनै छलफल नहुने स्पष्ट पारेका छन्। बरु, उनले नेकपा (माओवादी केन्द्र) ले ड्राफ्टसहित पठाएको दुई बुँदे प्रस्तावमा आफ्नो पार्टी सहमत रहेको बताएका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले भने, “रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन।” उनले थपे, “हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ। विपक्षी दलले भोलि एक दिन फेरि छलफल गर्न समय माग गर्नुभएको छ।”
भट्टराईले माओवादीको दुई बुँदे प्रस्तावमा सहमति हुने आशा व्यक्त गर्दै यदि त्यो सम्भव नभएमा लामो समय संसद् अवरुद्ध हुन नसक्ने र संसद् अगाडि बढ्ने संकेत दिए। यस भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि प्रतिपक्षी दलहरूले उनको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन्। आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको थियो।
२०८२ जेष्ठ २८, बुधबार