+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर धितो कर्जा ५३% ले बढ्दा पनि बजारमा किन देखिएन उत्साह?

अत्रिदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौं : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको देखाएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लगानीकर्ताले बजारमा लगानी गर्नका लागि कुल ३५ अर्ब रुपैयाँ ऋण लिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ३९ प्रतिशत बढी हो। तर, यसरी कर्जा प्रवाह बढे पनि दोस्रो बजारको कारोबारमा भने त्यसअनुसारको उत्साह देखिएको छैन।

राष्ट्र बैंकको तथ्यांकअनुसार, सेयर धितो कर्जामा ठूला कारोबारीको हिस्सा ८२.८५ प्रतिशत रहेको छ। करोडमाथिको कर्जा लिने यस्ता लगानीकर्ताले १० महिनाको अवधिमा कुल २९ अर्ब ८० करोड रुपैयाँ ऋण लगेका छन्। गत वर्षको सोही अवधिमा ठूला कारोबारीले ८ अर्ब ९ करोड रुपैयाँ मात्रै कर्जा लगेका थिए, जुन यस वर्ष ५३.३ प्रतिशतले बढेको हो।

चालू आर्थिक वर्षको सुरुदेखि नै वाणिज्य बैंकहरूको ब्याजदर एकल अंकमा झरेको र वैशाखमा ६ प्रतिशतसम्म ओर्लिएपछि त्यसको फाइदा उठाउँदै लगानीकर्ताले कर्जा बढाएको देखिन्छ। यसको प्रभाव साना लगानीकर्तामा पनि परेको छ। राष्ट्र बैंकको वर्गीकरणअनुसार, ५० लाखदेखि १ करोडसम्मको कर्जा लिने लगानीकर्ताले २ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगेका छन् भने २५ लाखदेखि ५० लाखसम्मका सेयर धितो कर्जामा लगानीकर्ताले २ अर्ब २० करोड र २५ लाखभन्दा तलकाले ७९ करोड रुपैयाँ कर्जा लगेका छन्। समग्रमा, असारयता लगानीकर्ताले यस्तो कर्जा २१ प्रतिशतले बढाएका हुन्।

कुल कर्जाको ८२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने ठूला लगानीकर्ताले यस अवधिमा कर्जा बढाए पनि दोस्रो बजारमा भने त्यसअनुसारको लगानी देखिएको छैन। धितोपत्रको दोस्रो बजारमा हुने दैनिक औसत कारोबारले पनि कर्जाको वृद्धिअनुसार कारोबार बढेको देखाउँदैन।गत साउन ३० गते लगानीकर्ताले एकै दिन २९ अर्बको कारोबार गरेर ‘अलटाइम हाइ’ रेकर्ड राखेका थिए। तर, त्यसपछिको बजारमा भने कारोबारले उस्तै लय लिन सकेन। बजारमा कारोबारीहरू निष्क्रिय रहँदा कारोबार रकम लगातार खस्कियो। अहिले दैनिक सरदर ६ देखि ७ अर्ब रुपैयाँको मात्रै कारोबार हुँदै आएको छ।

गत १० महिनामा सेयर धितो कर्जा ३९ प्रतिशतले वृद्धि हुँदा पनि दोस्रो बजारको कारोबारमा त्यसअनुसारको वृद्धि नदेखिनुले यसरी प्रवाह भएको कर्जा कहाँ गइरहेको छ भन्ने प्रश्न उब्जिएको छ। के यो कर्जा सेयर बजारबाहिर अन्यत्रै प्रयोग भइरहेको हो वा ठूला लगानीकर्ताहरू बजारमा नयाँ लगानीका लागि उपयुक्त अवसरको प्रतीक्षामा छन्? यस विषयमा थप अध्ययन आवश्यक देखिन्छ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ