काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज (मंगलबार) नेपालले नेदरल्याण्डसको सामना गर्दैछ। स्कटल्याण्डमा जारी यस त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। यो सिरिजमा नेपालले पहिलो पटक ब्याटिङ गर्दैछ।
यस खेलमा नेपालले टोलीमा तीन परिवर्तन गरेको छ। सोमपाल कामी, गुलशन झा र आसिफ शेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई प्लेइङ-११ मा अवसर दिइएको छ।
बाहिरिएका खेलाडीमध्ये आसिफ शेखले यस सिरिजमा ओपनिङ गर्दै २०, १९ र ८ रन बनाएका थिए। सोमपाल कामीले पछिल्लो खेलमा ६७ रनको शानदार इनिङ खेल्नुका साथै तीन खेलमा ५ विकेट लिएका थिए। त्यस्तै, गुलशन झाले तीन खेलमा ११, ११ र ४२ रन बनाएका थिए। यी परिवर्तनले नेपालको प्रदर्शनमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ।
नेदरल्याण्डसविरुद्ध खेल्ने नेपाली टिम:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।
२०८२ जेष्ठ २७, मंगलबार