काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज स्कटल्याण्डमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। यो सिरिजमा नेपालले पहिलो पटक ब्याटिङ गर्ने अवसर पाएको हो।
नेपालले यस सिरिजमा खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको छ भने एउटामा हार बेहोरेको छ। पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्याण्डसलाई नै ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो। नेपाल र नेदरल्याण्डसबीच हालसम्म भएका ६ एकदिवसीय खेलमा दुवै टोलीले समान तीन-तीन जित हासिल गरेका छन्।
अंक तालिकामा नेपाल १५ खेलबाट १० अंकसहित सातौं स्थानमा छ। नेपालले ४ खेल जितेको छ, ९ खेल हारेको छ र २ खेलको नतिजाविहीन छन्। नेदरल्याण्डस भने २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
२०८२ जेष्ठ २७, मंगलबार