+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डसँग जनार्दनको ’जुहारी’ चर्चा

माओवादीमा प्रचण्ड निर्विकल्प, दोस्रो पुस्ताको आकांक्षा स्वाभाविक

प्रकाश मिश्र
२०८२ जेष्ठ २३, शुक्रबार

अत्रिदेव खबर:नेकपा माओवादी केन्द्रभित्र बेलाबेलामा चर्चामा आउने एउटा चाखलाग्दो प्रसंग हो – जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई टक्कर दिएको वा उनीहरूबिच ’जुहारी’ चलेको। विद्यार्थी संगठन होस् वा पार्टीका विभिन्न कमिटीहरू तथा जनवर्गीय संगठनका निर्वाचनहरू आउँदा सामाजिक सञ्जालमा ’प्रचण्ड भर्सेस जनार्दन’ भन्ने भाष्य निर्माण गर्ने लेख, समाचार र स्टाटसहरूको बाढी नै आउँछ। यस्ता चर्चाले जनमानसमा विभिन्न प्रश्नहरू खडा गरेका छन् के साँच्चै जनार्दन प्रचण्डसँग बराबरी गर्न चाहन्छन्, वा उनी प्रचण्डपछिको नेता बन्न यसो गरिरहेका छन् ? माओवादी आन्दोलनको विगत, वर्तमानमा भइरहेका गतिविधि, विशेष गरी वाईसीएल (योङ कम्युनिस्ट लिग) निर्वाचनसम्मको अवस्था केलाएर यो प्रसंगको गहिराइमा पुग्ने प्रयास गरौँ।

यो सत्य हो कि नेकपा माओवादी केन्द्रमा प्रचण्डको बराबरी गर्ने नेता कोही छैन । नेपाली राजनीतिमा प्रचण्डको योगदान अद्वितीय छ । उनले दश वर्ष लामो जनयुद्धको नेतृत्व गरे, जसले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा युगान्तकारी परिवर्तन ल्यायो । राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, धर्मनिरपेक्षता र समावेशीकरण जस्ता एजेन्डाहरू स्थापित गर्न प्रचण्डको भूमिका निर्णायक रह्यो । उनले जनयुद्धबाट शान्ति प्रक्रियामा आएर हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन र नयाँ संविधान निर्माणमा समेत नेतृत्वदायी भूमिका निभाए । यी सबै योगदानले प्रचण्डलाई माओवादीभित्र मात्र नभई समग्र नेपाली राजनीतिमै एक शिखर पुरुषका रूपमा स्थापित गरेको छ।
हाल पनि प्रचण्ड प्रतिगामी तत्वहरूसँगको राजनीतिक लडाइँमा अग्रमोर्चामा छन् । संविधान र गणतन्त्रमाथि हुने हरेक प्रहारको सामना गर्न उनी कम्मर कसेर लागेका छन् । अस्थिर राजनीतिक वातावरणमा सत्ता समीकरणको नेतृत्व गर्दै देशलाई स्थिरता र विकासको बाटोमा लैजाने उनको प्रयास जारी छ । यस्तो अवस्थामा पार्टीभित्रैबाट उनको नेतृत्वलाई चुनौती दिने कुरा सामान्य मानिँदैन ।
जनार्दन शर्माः प्रचण्डका ’सक्षम सारथी’ वा ’आकांक्षी’ ?
जनार्दन शर्मा ’प्रभाकर’ माओवादी जनयुद्धका एक सफल कमान्डर र प्रचण्डका विश्वासिला पात्र हुन् । युद्धकालदेखि नै उनी प्रचण्डको नजिक रहेर काम गर्दै आएका छन् । शान्ति प्रक्रियापछि पनि उनी पार्टी र सरकारका महत्त्वपूर्ण पदहरूमा रहेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । अर्थमन्त्रीका रूपमा उनले गरेका केही निर्णय र प्रस्तुत गरेका बजेटहरूले राम्रै चर्चा पाएका थिए।
पछिल्लो समय जनार्दनको चर्चा प्रचण्डसँगको प्रतिस्पर्धाको रूपमा आउनुको मुख्य कारण पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नेताहरूको आकांक्षी स्वभाव नै हो । माओवादी केन्द्रले आफ्ना जनवर्गीय संगठन र विभिन्न कमिटीहरूमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अपनाउने गरेको छ । यस्ता निर्वाचनमा नेताहरूका आ–आफ्ना पक्ष र समूह बन्ने गर्छन् । जनार्दन शर्मालाई माओवादीभित्र एउटा शक्तिशाली समूहको नेता मानिन्छ । विशेष गरी युवापंक्तिमा उनको प्रभाव राम्रो देखिन्छ।
वाईसिएल निर्वाचन र ’प्रचण्ड भर्सेस जनार्दन’ भाष्य
पछिल्लो वाईसीएलको निर्वाचनको प्रसंग पनि यसै ’जुहारी’ सँग जोडिन्छ । वाईसीएल माओवादीको युवा संगठन भएकाले यसको नेतृत्वमा को आउँछ भन्ने कुराले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण अर्थ राख्छ । वाईसीएल निर्वाचनमा जनार्दन शर्मा निकट नेताहरूले राम्रो पकड बनाउन खोज्नु र त्यसलाई सामाजिक सञ्जालमा ’प्रचण्ड भर्सेस जनार्दन’ को रूपमा प्रस्तुत गरिनु स्वाभाविक हो त ?
तर, यसको अर्थ जनार्दनले प्रचण्डलाई खुला रूपमा चुनौती दिएका हुन् वा उनको नेतृत्व स्वीकार गर्दैनन् भन्ने होइन । माओवादीभित्र प्रचण्डको स्थान निर्विवाद छ र उनी पार्टीको अन्तिम निर्णयकर्ता हुन् । जनार्दन लगायतका अन्य नेताहरूले पार्टीभित्रको लोकतान्त्रिक प्रतिस्पर्धालाई आफूलाई स्थापित गर्ने र आगामी नेतृत्वका लागि आधार तयार गर्ने अवसरका रूपमा लिएको बुझ्न सकिन्छ ।

के जनार्दन प्रचण्डपछि माओवादीको नेता बन्न चाहन्छन ?
माओवादी केन्द्रभित्र प्रचण्डको उत्तराधिकारी को भन्ने बहस बेलाबेलामा हुने गर्छ। जनार्दन शर्मा,शक्ति बस्नेत,बर्षमान पुन जस्ता सक्षम र अनुभवी नेताहरूले निश्चित रूपमा आगामी नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । जनार्दनले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई संगठित गर्नु, उनीहरूको माध्यमबाट पार्टीका आन्तरिक निर्वाचनहरूमा आफ्नो पकड बनाउनु, र सार्वजनिक रूपमा आफूलाई सक्षम नेताका रूपमा प्रस्तुत गर्नु प्रचण्डपछीको नेताका रुपमा आफुलाई स्थापित गर्ने प्रयासको स्वाभाविक राजनीतिक अभ्यास हो । यो प्रचण्डसँगको ’जुहारी’ भन्दा पनि प्रचण्डपछि पार्टी नेतृत्वमा आउनका लागि आफ्नो आधार तयार गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ।

समग्रमा हेर्दा, नेकपा माओवादी केन्द्रभित्र प्रचण्डको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिने स्थितिमा कुनै पनि नेता छैनन् । प्रचण्डको योगदान, अनुभव र पार्टीभित्रको पकड अतुलनीय छ । जनार्दन शर्मा र प्रचण्डबिचको ’जुहारी’ भनिनु, विशेष गरी जनवर्गीय संगठनका निर्वाचनमा, पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वका लागि नेताहरूले गर्ने स्वाभाविक प्रतिस्पर्धाको द्योतक हा े। जनार्दन शर्मा जस्ता नेताहरूले आफूलाई पार्टीभित्र बलियो बनाउनु र भविष्यमा पार्टीको नेतृत्व सम्हाल्ने आकांक्षा राख्नु स्वाभाविक हा े। तर, यो आकांक्षा प्रचण्डको नेतृत्वलाई अस्वीकार गर्ने भन्दा पनि प्रचण्डको छत्रछायामा रहेर पार्टीको आगामी नेतृत्वका लागि आफूलाई तयार गर्ने प्रयासका रूपमा बुझ्नुपर्छ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

प्रकाश मिश्र

अत्रिदेव खबर

ट्रेन्डिङ