पहलमानपुर: कैलालीको घोडाघोडी नगरपालिका-१०, पहलमानपुरमा रहेको कलाम बम मेमोरियल इंग्लिश स्कुल मा आज विश्व वातावरण दिवस विविध जनचेतनामूलक कार्यक्रमका साथ भव्यताका साथ सम्पन्न भएको छ। वातावरण संरक्षणको महत्त्व र यसको दिगोपनाका लागि आवश्यक कदम चाल्ने उद्देश्यले विद्यालयले विभिन्न गतिविधिहरू आयोजना गरेको थियो।
“स्वच्छ वातावरण, समृद्ध जीवन” भन्ने नाराका साथ विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो। यो प्रभातफेरीले गाउँभर हरियाली र सफाइको महत्त्वबारे सशक्त सन्देश प्रवाह गरेको थियो।
गत वर्ष विद्यालयको वातावरणीय क्लबको नेतृत्वमा सुरु गरिएको ‘एक व्यक्ति, एक बिरुवा’ अभियान अन्तर्गत रोपिएका बिरुवाहरूको गोडमेल र घेरबार गर्ने कार्य यस वर्ष पनि निरन्तरता दिइयो।
यस अभियानले हरियाली प्रवर्द्धन र जैविक विविधता संरक्षणप्रति विद्यालयको प्रतिबद्धता झल्काउँछ। “स्वच्छ वातावरण, समृद्ध जीवन” विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिए। विद्यार्थीहरूले वैज्ञानिक, सामाजिक र नैतिक पक्षहरूलाई जोडेर वातावरण संरक्षणका विषयमा आफ्ना अत्यन्त सशक्त विचारहरू प्रस्तुत गरे।छात्र–छात्राहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न चित्रहरू, पोस्टरहरू र रचनात्मक कलाकारिता प्रस्तुत गरे। बालमस्तिष्कबाट निस्केका यी कलाकृतिहरूले वातावरणप्रतिको उनीहरूको संवेदनशीलता र जागरूकतालाई प्रस्ट पारेका थिए।
कार्यक्रमको समापनमा कलम बम मेमोरियल इंग्लिश स्कुलका संस्थापक प्रिन्सिपल युवराज बमले विश्व वातावरण दिवसको महत्त्वमाथि प्रकाश पार्दै भन्नुभयो, “आजको यो विशेष कार्यक्रम केवल एक दिनको उत्सवमा सीमित नहोस्। हामीले यहाँबाट पाएको वातावरण संरक्षणको सन्देशलाई दैनिक जीवनमा व्यवहारमा उतार्नुपर्छ। हरियाली र स्वच्छ वातावरण केवल हाम्रो भविष्यको सुरक्षा मात्र होइन, यो हाम्रो सामूहिक जिम्मेवारी पनि हो।”प्रिन्सिपल बमले विद्यार्थीहरूलाई वातावरणमैत्री व्यवहार अपनाउन र यसका लागि अरूलाई पनि प्रेरित गर्न आह्वान गर्नुभयो। यस कार्यक्रमले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

२०८२ जेष्ठ २२, बिहिबार