सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इंग्लिस बोर्डिङ स्कुलमा आइतबार एक विशेष साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरू तथा माध्यमिक तहका शिक्षकहरूको उपस्थितिमा कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको हो। उक्त कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख डिएसपी श्री रमेशदत्त अवस्थीले गर्नुभएको थियो। उहाँले हालको डिजिटल युगमा इन्टरनेटको सही प्रयोग, साइबर अपराधका विविध प्रकार, त्यसबाट बच्न अपनाउनुपर्ने उपाय तथा कानुनी दायराका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। डिएसपी अवस्थीले सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, हैकिङ, साइबर बुलिङ, फेक एकाउन्ट तथा गोपनीयता सम्बन्धी अपराधबारे विद्यार्थीहरूलाई सजग रहन आग्रह गर्दै, साइबर अपराधको शिकार भएमा प्रहरीलाई उजुरी दिन ढिला नगर्न पनि अनुरोध गर्नुभयो।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्री परशुर भण्डारी (पीआर)ले स्वागत मन्तव्य दिँदै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा प्रविधिको सकारात्मक प्रयोग गर्ने संस्कार विकास गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आजको पुस्ता इन्टरनेटसँग नजिक छ, तर सुरक्षा र जिम्मेवारीबारे चेतना कम छ। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई सजग र सुरक्षित बनाउँछ।” कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले साइबर अपराधबारे पहिलोपटक गहिरो जानकारी पाएको अनुभव सुनाएका थिए। उनीहरूले भविष्यमा इन्टरनेट प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयहरू सिकेको र यस्ता कार्यक्रम बारम्बार हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमले साइबर अपराधको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै विद्यालय तहमा नै सचेतना फैलाउन अत्यन्त प्रभावकारी भूमिका खेलेको बताइएको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्तै शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
२०८२ जेष्ठ १८, आईतबार