काठमाडौँ : पछिल्लो एक वर्ष नेपाली फिल्म क्षेत्रमा अभिनेत्री अञ्जना बराइलीका लागि निकै फलदायी रह्यो। गत वर्ष प्रदर्शनमा आएका ६ मध्ये ५ फिल्ममा उनको सशक्त उपस्थिति देखियो, जसमध्ये ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा राम्रो सफलता हासिल गरे। यी फिल्ममा निभाएका ग्रामीण पात्रहरूले दर्शकको मन जित्दा अञ्जना यतिबेलाकी ‘डिमान्डेड’ अभिनेत्री बनेकी छन्।
हालै ‘परिवर्तन’ नामक नयाँ फिल्म साइन गरेकी अञ्जनाको अर्को बहुप्रतिक्षित फिल्म ‘महाभोज’ दर्शकमाझ आउँदैछ। यो फिल्म उनका लागि ‘नयाँ अनुभव’ भएको अञ्जना बताउँछिन्। उनले ‘महाभोज’मा आफूले ग्रामीण भूगोलकी पात्रको सट्टा सहरी युवतीको भूमिका निर्वाह गरेको जानकारी दिइन्।
“मैले सधैं गाउँको परिवेशमा आधारित भूमिका गरिरहेकी थिएँ। ‘महाभोज’मा सहरी युवतीको भूमिकामा छु,” उनी भन्छिन्, “गाउँले पात्रमा म सजिलै ढल्न सक्छु, त्यो मेरो रुचिसमेत हो। अब सहरी जीवनशैली र पात्रमा पनि आफूलाई विस्तार गर्दैछु।” ‘पुजार सार्की’मा आर्यन सिग्देलसँग पहिलोपटक स्क्रिन सेयर गरेकी अञ्जना ‘महाभोज’मा पनि आर्यनकै को-एक्टरको रूपमा देखिँदैछिन्। सहकारी ठगी र त्यसले ल्याउने पारिवारिक, सामाजिक तथा राजनीतिक द्वन्द्वको कथा बोकेको ‘महाभोज’को ट्रेलर सार्वजनिक भइसकेको छ र अञ्जनाको अभिनयलाई दर्शकले निकै रुचाइसकेका छन्।
अञ्जना ‘महाभोज’को कथा अहिलेको समाजसँग नजिक रहेको र यसमा आफूले निभाएको पात्रले वास्तविकता र वर्तमानको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्छिन्। ‘पुजार सार्की’की ‘मैयाँ’ र ‘पूर्णबहादुरको सारंगी’की ‘बाटुली’ जस्ता पात्रहरूले दर्शकको मनमा गहिरो छाप छोड्न सफल भए पनि ‘महाभोज’ले उनलाई नयाँ किसिमको भूमिका दिने र दर्शकहरूसँग अझ गहिरो सम्बन्ध बनाउन सहयोग पुर्याउने उनको अपेक्षा छ।
फिल्म छनोट गर्दा कथा र चरित्रलाई प्राथमिकता दिने अञ्जना आफ्नो अभिनयलाई अझै आत्मीय बनाउने लक्ष्यमा छिन्। ‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा छ।
२०८२ जेष्ठ १३, मंगलबार