+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘स्वादले लोभ्याउने, स्वास्थ्यले धोका दिने’ — अल्ट्रा–प्रोसेस्ड खानेकुराको चक्रव्यूह

स्वादिष्ट देखिने, सजिलै पाइने, झन्झटविहीन! आजकालको फास्ट लाइफस्टाइलमा यिनै कुरा प्राथमिकता बनिरहेका छन्। तर, यही सहजतामै लुकेको छ स्वास्थ्यलाई दीर्घकालीन क्षति पुर्‍याउने खतरा।

अत्रिदेव खबर
२०८२ बैशाख २२, सोमबार

काठमाडौ : शहरको हतारो र चापबीच छिटो पकाइने र स्वादिलो खानेकुरा रोज्ने चलन तीव्र बन्दै गएको छ। तर ती आकर्षक प्याकेटभित्र लुकेका छन् यस्ता तत्व, जसले हाम्रो शरीरलाई बिस्तारै खोक्रो बनाउँदै लग्छन्।

पोषणविद्हरूको चेतावनी अनुसार, यस्ता अल्ट्रा–प्रोसेस्ड फूडहरूमा अत्यधिक चिनी, नुन र चिल्लो पदार्थ मिसाइएको हुन्छ। यिनको निरन्तर उपभोगले शरीरमा बोसो जम्ने, उच्च रक्तचाप, मुटुरोग, मधुमेह र मानसिक तनावको जोखिम बढ्ने देखिन्छ। अझ गम्भीर त, यी खानाले शरीरमा इन्सुलिन रेसिस्टेन्स र खराब कोलेस्ट्रोल बढाउँछन्, जुन अन्ततः ज्यानै लिने रोगहरूको ढोका खोलिदिन्छ।

विशेषज्ञ डा. विधान निधि पौडेलका अनुसार, यस्ता खानेकुराले आन्द्राभित्रका लाभदायक ब्याक्टेरिया मार्छन्, जसले पाचन प्रणालीमा समस्या ल्याउँछ। दीर्घकालमा यो कोलोन क्यान्सरजस्ता घातक रोगमा परिणत हुन सक्छ।

यी खानेकुरा छिटो पच्ने खालका हुने भएकाले बारम्बार भोक लाग्ने र त्यही खानाको लत बस्ने सम्भावना उच्च हुन्छ। यसले पोषक तत्वयुक्त परम्परागत खानाको स्थान ओगट्छ, जुन दीर्घकालीन रुपमा स्वास्थ्यमा दोहोरो असर पुर्‍याउँछ।

नेपालमा अझै यस्ता खानेकुराको प्रत्यक्ष असरबारे ठोस अध्ययन छैन, तर पोषणविद्हरू भन्छन्— ढुक्क हुने अवस्था छैन। फास्ट फूड, प्याकेज्ड स्न्याक्स र बोतलबन्द पेय पदार्थहरूको खपत बढ्दै गएको छ। त्यो पनि विशेषगरी युवामाझ।

यसको विकल्प भने सरल छ— स्थानीय र मौसमी खाना। गहुँ, फापर, कोदो, दाल, सागसब्जी र फलफूलमा पाइने प्राकृतिक पोषण नै शरीरको सच्चा सुरक्षा कवच हो। साथै, प्याकेज्ड खानाको लेबल पढ्ने, चिनी, नुन र चिल्लोको मात्रा बुझ्ने बानीले पनि रोगबाट बच्न मद्दत गर्छ।

स्वास्थ्यको लागि सजगता आवश्यक छ। स्वादको पछि लाग्दा स्वास्थ्य गुमाउनु पर्ने अवस्था नआओस्। तसर्थ, अब स्वाद मात्र होइन, सावधानी पनि रोजौं।

२०८२ बैशाख २२, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २२, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ