+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई युवा नेपाली छोरीको लगातार मृत्यु

मृत प्रिसाको शव प्रहरीभन्दा पहिले उठाइयो, के लुकाउन खोज्दै थियो कलेज प्रशासन?

अत्रिदेव खबर
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं:भारतको ओडिशा राज्यस्थित प्रतिष्ठित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी नेपाली छात्रा प्रिसा साहको घटनामा चुलिँदो रहस्य थपिएको छ । ओडिशा टिभी अनलाइनको रिपोर्ट अनुसार, प्रिसाको शव प्रहरीले घटनास्थलमा पुग्नु अघि नै कलेज प्रशासनले उठाएर अन्यत्र सारिसकेको पाइएको छ, जसले घटनाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा प्रिसाको शव झुन्डिएको अवस्थामा भेटिएको बताइएको थियो । तर, घटनास्थलमा पुगेका इन्फोसिटी प्रहरीका कन्स्टेबल निराकर खटुआले भने, “हामी पुग्दा शव खाटमा पल्टिएको अवस्थामा थियो, झुन्डिएको थिएन।”

यो बिवरणले विश्वविद्यालयले दिएको जानकारी र वास्तविकताबीच स्पष्ट अन्तर रहेको देखाउँछ । शव तत्कालै कलेजका मेडिकल इमर्जेन्सी वार्डमा सारिएको थियो र त्यसपछि भुवनेश्वरस्थित एम्स अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो — यो प्रक्रिया प्रहरीको औपचारिक अनुमति वा संलग्नता बिना सम्पन्न भएको आशंका गरिएको छ।

झनै चित्त नबुझ्ने कुरा त के हो भने, यति संवेदनशील क्षणमा कलेज प्रशासनले शव उठाउने कार्यमा किन हतार गर्‍यो ? के उनीहरूले घटनास्थलको अवस्था परिवर्तन गरेर प्रमाण नष्ट गर्न खोजेका थिए ?

यस्तै, तीन महिनाको अन्तरालमा उक्त होस्टेलमा यो दोस्रो नेपाली छात्राको मृत्यु हो । यसअघि प्रकृति लम्सालको पनि संकास्पद मृत्यु भएको थियो । दुई युवा नेपाली छोरीको लगातार मृत्यु र विश्वविद्यालय प्रशासनको रहस्यमय गतिविधिले अब घटनाको गहिरो अनुसन्धान अपरिहार्य बनेको छ।

नेपाल सरकारले भारतीय पक्षसँग यस विषयमा कूटनीतिक तहमा स्पष्ट जानकारी माग गर्नुका साथै नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने आवाज उठ्दै गएको छ।

२०८२ बैशाख १९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ