काठमाडौं : आज देशभर जन्मदात्री आमालाई श्रद्धा र सम्मानपूर्वक सम्झँदै ‘आमाको मुख हेर्ने पर्व’ भव्यताका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा मनाइने यस विशेष पर्वमा सन्तानहरूले आमालाई मिठा–मिठा खानेकुरा खान दिई, राम्रा लुगा पहिर्याई आशीर्वाद लिने परम्परा रहिआएको छ।
वैदिक सनातन परम्परामा आमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि श्रेठ ठानिएकी छन्। यही श्रद्धा र भक्तिको भावना लिएर आजको दिन आमाप्रति कृतज्ञता प्रकट गरिन्छ। बिहानै स्नान गरी आमालाई तागतिला भोजन गराउने र गहिरो श्रद्धासाथ सम्मान व्यक्त गर्ने चलन आज पनि उस्तै जीवित छ।
जसका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई भन्छन्, “सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको छ, जसले आमा र जन्मभूमिलाई स्वर्गभन्दा प्यारो मानेको छ।”
आफ्ना आमा दिवङ्गत भइसकेकाहरूले भने आज आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धापूर्वक पूजाआजा गर्ने गर्दछन्।
जीवनमा देवऋण, पितृऋण र मनुष्यऋण तिर्नुपर्ने वैदिक सन्देशलाई आत्मसात् गर्दै, आमाप्रतिको सम्मान र कृतज्ञतालाई उजागर गर्ने यो पर्व नेपाली समाजमा विशेष महत्व राख्दछ।
२०८२ बैशाख १४, आईतबार