काठमाण्डौ : संघीय संसद्को पहिलाे अधिवेशन बिहीबारदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार पहिलाे अधिवेशनको पहिलो बैठक दिउँसाे २ बजे सिंहदरबारमा बस्ने छ ।
बुधबार संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । सम्भावित कार्यसूची अनुसार सुरुमा जेष्ठ सदस्यले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् ।
यस्तै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने छ । यस्तै बैठकमा तीन वटा अध्यादेश पनि पेश हुनेछन् । मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।
यस्तै दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने सूची पनि छ । सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।

२०८२ चैत्र १८, बुधबार