काठमाण्डौ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उपाध्यक्ष संसदीय दलकाे नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले उपाध्यक्ष रामबहादुर रामबहादुर थापा ‘बादल’लाई दलको नेता बनाएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई दलको नेता चयन गरेको थियाे । दलकाे नेतामा थापा र युवा नेता सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
एमालेको व्यापक पुनर्गठनमार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको भट्टराईले बताए ।
‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठनमार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ’, उनले लेखेका छन् ।
उनले केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदबीच छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको भन्दै राम्रो नभएको बताए । ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ‘, उनले लेखेका छन् ।
२०८२ चैत्र १८, बुधबार