कैलाली : आज आयोजित एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) कैलाली जिल्ला कमिटी सदस्य नवराज आचार्य र चन्द्र पाठक तथा स्वतन्त्र व्यक्तित्व टेक राज शर्मा नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।
उनीहरूलाई कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरीराम चौधरीले स्वागत गर्दै पार्टीको झन्डा र अविर लगाएर औपचारिक रूपमा प्रवेश गराउनुभएको थियो।
पार्टी प्रवेशपछि बोल्दै नवराज आचार्यले देशको समृद्धि, स्थायित्व र जनतामुखी एजेण्डा अहिले नेपाली कम्युनिस्ट पार्टीले मात्रै स्पष्ट रूपमा अघि सारेको बताउनुभयो। “जनताको वास्तविक मुद्दा सम्बोधन गर्ने शक्ति यही पार्टीमा देखेपछि हामीले नयाँ निर्णय लिएका हौँ,” उहाँले भन्नुभयो।
चन्द्र पाठकले कैलाली–४ मा परिवर्तनको लहर सुरु भइसकेको दाबी गर्दै अबको निर्वाचनमा जनताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो। स्वतन्त्र रूपमा सामाजिक कार्यमा सक्रिय टेक राज शर्माले पनि जनताको हितमा काम गर्ने नेतृत्वलाई साथ दिन आफू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताउनुभयो।
कार्यक्रममा उम्मेदवार हरीराम चौधरीले पार्टी प्रवेशले कैलाली क्षेत्र नम्बर–४ मा थप उत्साह र ऊर्जा थपिएको उल्लेख गर्नुभयो। “आजको प्रवेशले हाम्रो जितको आधार अझ बलियो भएको छ। यहाँ जनताको अपार समर्थन छ, र आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको जित निश्चित छ,” चौधरीले दाबी गर्नुभयो।
उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
२०८२ फागुन १६, आईतबार