काठमाडौं। नेपालको बीमा उद्योगमा पहिलोपटक ‘सिटिजन लिडर डिस्कोर्स’ शीर्षकमा विशेष प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको उक्त कार्यक्रम फागुन ६ गते काठमाडौंस्थित होटल एभरेस्टमा सम्पन्न भएको हो।
करिब ४० मिनेट अवधिको विशेष प्यानल सत्र कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कम्पनीका सिटिजन लिडर्सहरू ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछाने प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।
प्यानल छलफलमा एजेन्सी व्यवसायका समसामयिक चुनौती, ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, व्यवसाय विस्तार तथा दीर्घकालीन स्थायित्वका विषयमा केन्द्रित बहस गरिएको थियो।
टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको बीमालेख परित्याग (ल्याप्स) दरलाई सम्पूर्ण एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा औंल्याउँदै केवल बिक्रीमा सीमित नभई दीर्घकालीन सम्बन्ध निर्माणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले ग्राहक निरन्तरता, प्रभावकारी अनुगमन र विश्वासमा आधारित सेवा प्रणालीमार्फत समाधान खोज्नुपर्ने सुझाव दिनुभयो।
ईश्वरी प्रसाद बरालले आफ्नो दुई दशकभन्दा लामो अनुभव साझा गर्दै बीमालाई केवल पेशा नभई सामाजिक उत्तरदायित्वको क्षेत्रका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। ग्रामीण क्षेत्रमा विश्वासमा आधारित सम्बन्ध र एजेन्टको प्रत्यक्ष पहुँचले बीमा व्यवसाय प्रभावकारी बन्ने उल्लेख गर्दै “जहाँ विश्वास बलियो हुन्छ, त्यहाँ बीमा सहज हुन्छ” भन्ने सन्देश दिनुभयो।
लक्ष्मी लामिछानेले बीमा पेशालाई पूर्ण रूपमा विश्वासमा आधारित क्षेत्र भन्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने धारणा राख्नुभयो। महिलाको जिम्मेवारीबोध, संवेदनशीलता र परिवार केन्द्रित सोचले बीमाको सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उहाँको भनाइ थियो।
सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले अभिकर्तालाई केवल विक्रेता नभई वित्तीय सल्लाहकार, जोखिम विश्लेषक र परिवार सुरक्षाका मार्गदर्शकका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
राजु श्रेष्ठले बदलिँदो डिजिटल परिवेशमा ग्राहक सचेत र तुलना गर्ने प्रवृत्तिमा वृद्धि भएकाले अब अभिकर्ताले पनि व्यावसायिक दक्षता, डिजिटल सीप र परामर्शमुखी दृष्टिकोण अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सहभागीहरूले प्रभावकारी, प्रेरणादायी तथा अन्तरक्रियामूलक मानेका छन्। कम्पनीले आगामी दिनमा पनि यस्ता नेतृत्व विकास र संवादमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सले नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै बीमा क्षेत्रमा नयाँ अभ्यास स्थापित गर्दै आएको जनाएको छ। ‘सिटिजन लिडर डिस्कोर्स’लाई सोही अभियानको दूरदर्शी कदमका रूपमा हेरिएको छ।
Download PDF
२०८२ फागुन १३, बिहिबार