+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कमैयाबाट संसदसम्म : वीरमान चौधरीको संघर्ष–यात्रा

अत्रिदेव खबर
२०८२ फागुन ५, बुधबार

कैलाली : २०३० साल साउन २६ गते जन्मिएका वीरमान चौधरीको जीवन कुनै सहज रेखामा चलेन। उनको बाल्यकाल र युवावस्था अर्काको घरमा कमैया बसेर बित्यो जहाँ पसिनाको मूल्य हुँदैनथ्यो, अपमानको सीमा हुन्थेन।

पाँच वर्षसम्म कमैयाको कठोर यथार्थ भोग्दा उनले अन्यायलाई नजिकबाट देखे, अनुभूत गरे र अन्ततः त्यसविरुद्ध उभिने साहस संकलन गरे। मालिकबाट थोत्रा लुगा पाएको स्मृति होस् वा पार्टीभित्र पनि कहिलेकाहीँ देखिएको उस्तै व्यवहार उनी चित्त नबुझेको कुरा खुलेर भन्न हिच्किचाउँदैनन्। यही स्वभावले उनलाई ‘स्पष्ट बोल्ने’ नेताका रूपमा चिनायो।

साक्षर रहेका चौधरी २१ वर्षको उमेरमा कामको खोजीमा कमैया जीवन त्यागेर भारततर्फ लागे। जम्मु–कश्मीरमा गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा मजदुरी गर्दै उनले कमैयाबाट मजदुरसम्मको अर्को जीवन चक्र सुरु गरे। मजदुर बनेपछि उनले पहिलो पटक स्वतन्त्रताको स्वाद चाखे आफ्नो श्रमको निर्णय आफैं गर्ने स्वतन्त्रता।

भारत बसाइँकै क्रममा उनी तत्कालीन नेकपा(माओवादी)को सम्पर्कमा आए। तीन महिनासम्म नगर सचिव र एरिया कमिटी सचिवालयमा रहेर पार्टी काम गरेपछि २०५६ सालमा स्वदेश फर्किए। नेपाल फर्कँदै गर्दा उनको जीवनले स्पष्ट दिशा पायो संघर्षलाई संगठनमा बदल्ने बाटो।

स्वदेश फर्किएपछि उनी एरिया कमिटी सचिव हुँदै जनमुक्ति सेनाको महाकाली क्षेत्रको सह–कमान्डर बने। सशस्त्र संघर्षको मोर्चामा सक्रिय रहँदा २०५६ सालमै माओवादीको पूर्णकालीन सदस्य बनेका चौधरीले २०५७ सालमा कञ्चनपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए। २०५७ देखि २०५९ सालसम्म दुई वर्ष बझाङ जिल्लाको इन्चार्ज भएर काम गरे।

सशस्त्र युद्धको क्रममा २०६२ सालमा बटालियन कमिसार बनेका उनी २०६२/६३ को जनआन्दोलनपछि कैलाली–कञ्चनपुर क्षेत्रको पार्टी सेक्रेटरी बने जहाँ युद्धबाट शान्तितर्फको संक्रमणमा संगठन र नेतृत्व दुवै तहमा खारिँदै गए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनले उनको जीवनमा निर्णायक मोड ल्यायो। कैलाली–३ बाट उम्मेदवार बनेका चौधरीले १९ हजार ७७२ मतसहित सानदार जित हासिल गरे; यो जितले कमैयाबाट संविधान निर्माण गर्ने सांसद्‌सम्मको यात्रालाई राष्ट्रिय पहिचान दियो। त्यसपछि पार्टीभित्र उनको हैसियत क्रमशः बढ्दै गयो२०७० सालमा केन्द्रीय सदस्य र २०७२ सालमा पोलिटब्युरो सदस्य।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा कैलाली–३(क) बाट उम्मेदवार बनेर १५ हजार ८६३ मतका साथ पुनः विजयी हुँदा उनले जनविश्वासको निरन्तरता प्रमाणित गरे। कैलारी गाउँपालिका–५, फल्कापुर स्थायी घर भएका चौधरी अहिले प्रतिनिधिसभा निर्वाचन २०८२ मा कैलाली–३ बाट पुनः मैदानमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ उम्मेदवार बनाएसँगै उनी आफ्नो पुरानो संघर्ष कमैयाबाट संसदसम्म फेरि एकपटक जनतामाझ दोहोर्‍याउन तयार छन्।

यो यात्रा केवल व्यक्तिगत उचाइको कथा होइन; उत्पीडनको भुइँबाट उठेर प्रतिनिधित्वको शिखरसम्म पुग्ने सम्भावनाको सन्देश हो।

२०८२ फागुन ५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ फागुन ५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ