+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा भन्छ– तथ्यविहीन हल्ला फैलाएर चुनावी वातावरण बिथोल्ने षड्यन्त्र

कञ्चनपुर–१ मा जनलहर बढेपछि बीना मगरविरुद्ध विदेशबाट योजनाबद्ध झुटा प्रचारबाजी

अत्रिदेव खबर
२०८२ माघ १७, शनिबार

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार बीना मगरप्रति जनसमर्थन तीव्र रूपमा बढिरहेका बेला विपक्षी तत्वहरू आत्तिएर विदेशबाट योजनाबद्ध दुष्प्रचारमा उत्रिएको नेकपाले आरोप लगाएको छ।
नेकपा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत विदेशमा बसोबास गर्ने केही व्यक्तिहरू प्रयोग गरी सामाजिक सञ्जालमार्फत उम्मेदवार बीना मगरविरुद्ध कपोकल्पित, आधारहीन र मिथ्या आरोप फैलाइएकोप्रति गम्भीर आपत्ति जनाएको हो।
विज्ञप्तीमा जेनजी विद्रोहपछिको परिवर्तित राजनीतिक सन्दर्भमा आउँदो २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर लोकतान्त्रिक दलहरू चुनावी प्रतिस्पर्धामा होमिएको उल्लेख गरिएको छ। सोही क्रममा नेकपाले पनि संविधान, लोकतन्त्र र जनअधिकारको पक्षमा सशक्त चुनावी अभियान अघि बढाइरहेको स्पष्ट पारिएको छ।
यसै सन्दर्भमा नेकपाकी केन्द्रीय सदस्य तथा कञ्चनपुर–१ की उम्मेदवार बीना मगरविरुद्ध ‘मिन गुरुङ’ नामको फेसबुक खाताबाट बेल्जियममा पाँच वटा रेष्टुरेन्ट रहेको जस्ता पूणरूपमा काल्पनिक र मनगढन्ते आरोप लगाउँदै भिडियो सामग्री बनाइ प्रचार गरिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।
नेकपाले यस्ता आरोपहरू कुनै तथ्य, प्रमाण र आधारविहीन भएको स्पष्ट पार्दै यो सुनियोजित दुष्प्रचार उम्मेदवारको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न गरिएको षड्यन्त्र भएको जनाएको छ। स्वदेशमा जनसमर्थन कमजोर हुँदै गएपछि केही प्रतिक्रियावादी समूहले विदेशमा रहेका नेपालीहरूलाई उक्साएर भ्रम फैलाउने निकृष्ट हत्कण्डा अपनाएको पार्टीको ठहर छ।
विज्ञप्तीमा बिना प्रमाण यस्ता सामग्रीहरू केही सञ्चार माध्यमका सामाजिक सञ्जाल पेजहरूबाट पुनःप्रसारण हुनु स्वयम् नेपाली सञ्चार जगतको विश्वसनीयता, ओज र गरिमामाथि आँच पुर्‍याउने कार्य भएको भन्दै कडा आपत्ति जनाइएको छ।
नेकपा क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा चुनावको मुखमा कालकोठाभित्र षड्यन्त्रपूर्वक रचिएका झुटा कथा फैलाएर उम्मेदवारको चरित्रहत्या, बदनाम र मानमर्दन गर्ने कार्य तत्काल रोक्न चेतावनी दिइएको छ। अन्यथा यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रियामा जान बाध्य हुने स्पष्ट चेतावनी पनि दिइएको छ।
साथै पार्टीले आम क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई विपक्षी तत्वले फैलाउने भ्रम, अफवाह र दुष्प्रचारमा नपर्न आग्रह गरेको छ।
विज्ञप्तीमा स्मरण गराइएको छ कि बीना मगर २०७४ सालमा निर्वाचित भई खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्दा होस् वा त्यसअघिदेखि नै जनताको हकहितका लागि निरन्तर मैदानमा खटिँदै आएको इतिहास सर्वविदित विषय हो। यस्तो पृष्ठभूमि भएका नेतृविरुद्ध तथ्यहीन हल्ला फैलाउनु जनमतलाई गुमराह गर्ने असफल प्रयास मात्र भएको नेकपाको निष्कर्ष छ।

२०८२ माघ १७, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ माघ १७, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ