सुखड: कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित न्युस्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो मूल मन्त्र “संस्कार सहित जोडिएको गुणस्तरीय शिक्षा” लाई आत्मसात गर्दै सरस्वती पूजाको पावन अवसरलाई विशेष गर्ने भएको छ।
विद्यालयले माघ ९ गते सरस्वती पूजाको दिन अक्षराम्भ कार्यक्रममार्फत निःशुल्क भर्ना अभियान सञ्चालन गर्न लागेको जनाएको छ। अक्षर चिनाउने सांस्कृतिक परम्परालाई शैक्षिक यात्रासँग जोड्दै बालबालिकालाई शिक्षाको उज्यालो बाटोमा प्रवेश गराउने उद्देश्य यस कार्यक्रमको मुख्य सार हो।
विद्यालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी (पिआर) का अनुसार ज्ञानकी देवी सरस्वतीको पूजासँगै गरिने अक्षराम्भले बालबालिकामा नैतिकता, अनुशासन, संस्कार र सिक्ने अभिरुचि विकास गर्ने विश्वास लिइएको छ। न्युस्टार स्कुलले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन उपयोगी सीप, मानवीय मूल्य र व्यवहारिक ज्ञानसँग जोड्दै अघि बढाउँदै आएको जनाएको छ।
विद्यालयले उक्त दिन विद्यालयमा भर्ना हुने बालबालिकाका लागि भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क रहने जानकारी दिँदै अभिभावकहरूलाई आफ्ना नानी–बाबुहरूलाई संस्कारयुक्त शिक्षाको यात्रामा जोड्न आग्रह गरेको छ।
२०८२ माघ ८, बिहिबार