सुखड: कपिलमुनी युवा क्लब, घोडाघोडी नगरपालिका–१ लक्ष्मिपुरले हालै घोडाघोडी–८ जरहीमा घाँटी रेटी हत्या गरिएका केशरबहादुर बुढाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
क्लबले दशैं–तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको चौथो सेभेन–ए–साइड खुल्ला फुटबल प्रतियोगिताका क्रममा जम्मा भएको ५ हजार १ सय र क्लबको तर्फबाट थप ५ हजार गरी कुल १० हजार १ सय रुपैयाँ सहयोग गरेको हो।
सहयोग रकम क्लबका सल्लाहकार संयोजक विवेक शाही, अध्यक्ष जयराज गिरी लगायतको टोलीले मृतकको घरमै पुगेर मृतककी श्रीमतीलाई हस्तान्तरण गरेको थियो।
सहयोग रकम प्रदान गर्दै सल्लाहकार संयोजक विवेक शाहीले भने “हाम्रो क्लब खेलकुदसँगै सामाजिक उत्तरदायित्वप्रति पनि सचेत छ। समुदायका सदस्यले यस्ता दुःखद क्षणमा सहयोगका हात अगाडि बढाउनु हाम्रो कर्तव्य हो। सानो रकमले ठूलो दुःख हटाउन नसक्ला, तर हामी सबै उनको परिवारसँग मन र भावनात्मक रूपमा साथमा छौँ।”
आर्थिक सहयोग प्रदान गर्न पुगेका क्लबका अध्यक्ष जयराज गिरीले भने “केशरबहादुर बुढाको हत्या अत्यन्तै पीडादायी घटना हो। क्लबका तर्फबाट सानो आर्थिक सहयोग गरेका छौं, तर यसले समुदायमा मानवीय भावना र एकताबोध फैलोस् भन्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा पनि क्लबले सामाजिक सहयोगका यस्ता गतिविधि निरन्तर गर्नेछ।”
मृतककी श्रीमती अस्मिता बुढाले सहयोग ग्रहण गर्दै भनिन “मेरा श्रीमानको मृत्युले हाम्रो परिवारलाई ठूलो चोट पुगेको छ। यस्तो दुखद घडीमा कपिलमुनी युवा क्लबका दाजुभाइहरूले घरमै आएर सहयोग र सहानुभूति देखाउनु हाम्रो लागि ठूलो सहारा बनेको छ। म सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु।”
कपिलमुनी युवा क्लबले पछिल्ला वर्षहरूमा विभिन्न खेलकुद, सामाजिक तथा मानवतामूलक कार्यहरू गर्दै आएको छ। क्लबले समुदायमा सकारात्मक सन्देश फैलाउँदै यस्ता सहयोगी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
२०८२ कार्तिक १२, बुधबार