+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यामेराको लेन्समा अपराधको अँध्यारो छायाँ: निर्देशक गौरव गौतमको ‘छलखेल’

अत्रिदेव खबर
२०८२ भाद्र १८, बुधबार

हेटौडा : एउटा यस्तो कथा, जहाँ विश्वासको हत्या हुन्छ, जहाँ शक्तिको भोकले सम्बन्धहरूलाई गल्छ र जहाँ अस्तित्वको लागि निरन्तर सङ्घर्ष चलिरहन्छ। यही अँध्यारो छायाँलाई पर्दामा उतार्न निर्देशक गौरव गौतमले आफ्नो नयाँ सिनेमा ‘छलखेल’ को छायाङ्कन मकवानपुरको हेटौडामा सुरु गरेका छन्।

काठमाडौँस्थित ओस्कार कलेजका दिक्षित उनै गौरव, जसले आफ्नो कलाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि प्रभाव जमाइसकेका छन्। उनको छोटो चलचित्र ‘युवराज’ ले अमेरिकाको फिल्म महोत्सवमा विशेष उल्लेख पाउनु र नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायक मण्डल विशेष पुरस्कार जित्नु यसैको प्रमाण हो। उनको अर्को फिल्म ‘चराको नाच’ ले भारतमा पनि चर्चा बटुलिसकेको छ।

‘छलखेल’ को माध्यमबाट गौरव गौतमले एकपटक फेरि दर्शकलाई क्राइम-थ्रिलरको गहिरो संसारमा डुबुल्की मार्ने निम्तो दिएका छन्। हेटौडाको शहरी तथा सांस्कृतिक सौन्दर्यलाई पृष्ठभूमिमा राखेर छायाङ्कन भइरहेको यो फिल्मको कथा, पटकथा र सम्पादनको सम्पूर्ण जिम्मेवारी निर्देशक गौरव स्वयंले सम्हालेका छन्। उदित गेलाल, दिवस राज आचार्य, निक कालिराज सुनार लगायतका कलाकारको सशक्त अभिनयले फिल्मलाई जीवन्त बनाउने अपेक्षा गरिएको छ।

“छलखेल एउटा यस्तो कथा हो, जसले समाजको अँध्यारो छायाँभित्र डुबेर विश्वास, शक्ति र अस्तित्वबीचको टकरावलाई प्रस्तुत गर्छ,” आफ्नो दृष्टिकोणबारे निर्देशकले भने, “नेपाली कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रतिध्वनित हुने शैलीमा प्रस्तुत गर्नु मेरो उद्देश्य हो।” यो फिल्मले नेपाली सिनेमामा एउटा नयाँ आयाम थप्ने र महोत्सव तथा डिजिटल प्लेटफर्महरूमा उल्लेख्य चर्चा कमाउने पक्का छ।

निर्देशक गौरवद्वारा निर्देशित छोटो चलचित्र “छलखेल” मा कलाकार उदित गेलाल, दिवस राज आचार्य, निक कालिराज सुनार, संदेश तिमल्सिना, आस्तिक दाहाल, अभिषेक घिमिरे र आश्रय कोइरालाले सशक्त अभिनय प्रस्तुत गरेका छन्। हेटौडास्थित डी–सिने फिल्म्ससँगको सहकार्यमा निर्माण भइरहेको यस छोटो चलचित्रको छायाङ्कन अश्विन श्रेष्ठले गरिरहेका छन् भने सह–निर्देशनको जिम्मेवारी सेशा घिमिरेले सम्हालिरहेका छन्। कथा, पटकथा तथा संवाद निर्देशक गौरव स्वयंले लेखेका हुन्, साथै सम्पादनको कार्यभार पनि उनी स्वयंले नै निर्वाह गर्ने भएका छन्।

२०८२ भाद्र १८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र १८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ