+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘मैले नै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खोलिदिएँ’: प्रचण्ड

अत्रिदेव खबर
२०८२ भाद्र १२, बिहिबार

विराटनगर :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो आफूले खोलिदिएको दाबी गर्नुभएको छ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीका लागि पनि बाटो खुलेको उहाँको भनाइ छ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, “मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष वा परोक्ष विद्याजीलाई ढोका खोलिदिएकै छ।” उहाँले नेपालको संविधान र कानुनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नरोक्ने पनि स्पष्ट पार्नुभयो।

एमालेले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि प्रचण्डले भने यसलाई सामान्य बताउनुभएको छ। उहाँले पहिला प्रधानमन्त्री केपी शर्मा ओली को सहमतिमा नै विद्या भण्डारीलाई पार्टी सदस्यता दिइएको बताए पनि चीन भ्रमणपछि उहाँहरूबीच विवाद आएको उल्लेख गर्नुभयो। “विद्याजी जो अहिले सक्रिय राजनीतिमा आउन चाहनुभएको छ, त्यो सदस्यता नवीकरण केपी ओलीजीकै सहमतिमा भएको हो भन्ने कुरा पनि अब त छर्लङ्ग भएको छ,” प्रचण्डले भन्नुभयो। उहाँका अनुसार, भण्डारीको चीन भ्रमण पनि ओलीकै सहमतिमा भएको र पछि उहाँलाई पार्टी अध्यक्ष बनाउने कुरा पनि चलेको थियो।

भण्डारीको भावी योजना (प्लान बी) बारे भने प्रचण्डले आफू अनभिज्ञ रहेको बताउनुभयो। उहाँले भण्डारीसँग पछिल्लो समय कुनै सम्पर्क नभएको र देशको वर्तमान गठबन्धन सरकारप्रति जनतामा असन्तुष्टि बढेको दाबी गर्नुभयो।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न नमिल्ने बताउँदै विश्वमा त्यस्ता धेरै उदाहरण रहेको उल्लेख गर्नुभयो, जहाँ राष्ट्रपतिहरू प्रधानमन्त्री वा महानगरपालिकाको मेयरसम्म भएका छन्।

२०८२ भाद्र १२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र १२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ