+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘शान्ति प्रक्रियामा चलखेल, नयाँ क्रान्ति अपरिहार्य’ : प्रचण्ड

अत्रिदेव खबर
२०८२ श्रावण १८, आईतबार

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर त्यसको प्रतिरोध गर्ने बताए।

आफू जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभा हुँदै अहिले पनि जीवित रहनुको कारण अर्को क्रान्ति गर्न भएको उनको भनाइ छ। ‘हामी बल गर्दैछौं। एकताबद्ध भएर प्रतिक्रियावादीको षड्यन्त्रको प्रतिरोध गर्ने कोसिस गरेका छौं,’ केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइरहेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिरहेका छौं। मैले गर्ने प्रतिबद्धता पनि यही नै हो।’

उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय अघि बढेको भए पनि यसमा पनि चलखेलहरु भइरहेको दाबी गरे। उनले भने, ‘विषय अघि बढेको छ, तर यसमा पनि चलखेल भइराखेको छ। तिखो आँखाले हेरिरहनुपर्छ। हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ। म अपिल गर्छु।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नुपर्ने कुनै कारण नभएको पनि बताए। यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रूपमा आत्मसात् गरेर मनाउनुपर्नेमा जोड दिए।

२०८२ श्रावण १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ