धनगढी : धनगढी उपमहानगरपालिका-४ स्थित नाष्ट कलेज नजिक आइतबार राति भीषण आगलागी हुँदा तीन व्यवसायिक प्रतिष्ठानका आठ सटरमा व्यापक क्षति पुगेको छ। स्थानीय विश्व प्रकाश कडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आगलागी भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार राति करिब १०:५० बजे अचानक विद्युत् सर्ट भई आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
आगलागीको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी बल नं. ३४ गण कैलाली, धनगढी उपमहानगरपालिकाका दुईवटा तथा गोदावरी नगरपालिकाको एउटा दमकलसहित स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार राति १२:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट हेलेन ट्रेड सप्लायर्सअन्तर्गत रहेका चार सटरभित्रको लुगा, कपडा र अन्य सरसामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै, परिवर्तन इन्फेक्सअन्तर्गतका तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
२०८२ श्रावण ५, सोमबार