काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला संसदीय दलको नेता परिवर्तनको विषयमा आफूनिकटका सांसदहरूसँग छलफलमा जुटेका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइराला समूहका सांसदहरूबीच यस विषयमा गहन छलफल भइरहेको छ।
शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेता बन्नका लागि बहुमत जुटाउने प्रयास गरिरहेको चर्चा चलेको छ। बालकृष्ण खाँण र उनको समूहले समेत साथ दिने भएपछि कोइराला थप हौसिएको बुझिएको छ। स्मरण रहोस्, पार्टी सभापति शेरबहादुर देउवा महामन्त्री गगन थापालाई पराजित गरेर दलको नेता बनेका थिए। हालै देउवा केपी शर्मा ओलीपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भएको चर्चा चलिरहेको छ।
तर, त्यसअगाडि नै बहुमत जुटाएर संसदीय दलको नेता बन्न शेखर कोइराला प्रयासरत छन्। कांग्रेसको विधानमा प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दलको नेता भएकै हुनुपर्ने व्यवस्था छ।
पछिल्लो समय कोइरालाले पार्टीबाहिरका नेताहरूसँग पनि छलफल तीव्र पारेका छन्। उनले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लामो भेटवार्ता गरेका थिए। ती भेटवार्तामा सहभागी केही नेताहरूले अब ओलीपछि शेखर नै प्रधानमन्त्री बन्ने दाबी गर्दै अन्तर्वार्ताहरू दिइरहेका छन्।
यही सेरोफेरोमा शेखर कोइरालाले आफूनिकट सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनको यो कदमले नेपाली राजनीतिमा नयाँ हलचल ल्याउने संकेत देखिएको छ।
२०८२ श्रावण ४, आईतबार