काठमाडौं : नेकपा (एमाले) को पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। यस बैठकको मुख्य एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ। एमालेमा हाल ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहेको छ।
बिहीबार मध्यरातमा सम्पन्न सचिवालय बैठकले विधान संशोधनको महत्वपूर्ण प्रस्ताव तयार पारेको छ। प्रारम्भमा १९ सदस्यीय पदाधिकारीलाई ११ जनामा सीमित गर्ने प्रस्ताव गरिए पनि, छलफलको क्रममा पदाधिकारीको संख्या १५ जना पुर्याउने अनौपचारिक सहमति भएको छ।
प्रस्तावित पदाधिकारी संरचनाअनुसार, वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव, एक जना उपमहासचिव, पाँच जना उपाध्यक्ष र सात जना सचिव रहनेछन्। यद्यपि, यो प्रस्ताव अन्तिम नभएको स्रोतले जनाएको छ।परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरो बैठकमा प्रस्तुत गर्ने जिम्मा पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई दिइएको छ।
सचिवालय बैठकमा पौडेलले सुरुमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरे पनि, पछि यसलाई २५१ सदस्यीय बनाउने निर्णय भएको थियो। प्रस्तावित विधानअनुसार, केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्। जसअनुसार, पोलिटब्युरोको संख्या ९९ बाट ८३ सदस्यमा झारिनेछ। यो विधान संशोधन प्रस्तावले पार्टीको सांगठनिक स्वरूप र आगामी नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। पोलिटब्युरो बैठकमा यस विषयमा थप गहन छलफल हुनेछ।

२०८२ श्रावण २, शुक्रबार