+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेमा ओलीको ‘चिरकालीन’ राज: उमेर हद र कार्यकाल गायब!

अत्रिदेव खबर
२०८२ श्रावण २, शुक्रबार

काठमाडौं : नेकपा (एमाले) को विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक करिब १० घण्टासम्म चलेर अन्ततः अध्यक्ष केपी शर्मा ओलीको ‘शक्ति सञ्चय’ गर्ने दिशामा महत्त्वपूर्ण निर्णय गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णयसँगै पार्टीभित्र लामो समयदेखि बहसको विषय बनेको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने ‘रणनीतिक’ कदम चालिएको छ।

यो निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालै बढेको राजनीतिक सक्रियतासँगै उठेका ‘आफ्नै मान्छे’लाई स्थापित गर्ने चाहनालाई समेत बल पुर्याएको विश्लेषण गरिएको छ। तर, यसको मुख्य फाइदा भने अध्यक्ष ओलीलाई हुने स्पष्ट छ, जसले अब अध्यक्ष पदमा अनिश्चितकालसम्म रहन सक्ने वैधानिक बाटो खोलेका छन्।

बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन मस्यौदामाथि ‘गम्भीरताका साथ छलफल’ भएको दाबी गरे। तर, उनी आफैं उमेर हद र दुई कार्यकालको पक्षमा सार्वजनिक रूपमा वकालत गर्ने नेताहरूमध्ये पर्छन्। अहिले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा ‘नरम’ सुनिनु र अध्यक्ष ओलीसँग ‘फरक मत’ राखेको चर्चा चल्नुले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र दबाबको संकेत गर्छ। यद्यपि, उनको ‘फरक मत’ अन्ततः अध्यक्षको चाहनाअनुसार नै ‘व्यवस्थापन’ हुनेमा धेरैलाई शंका छैन।

पोखरेलले ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो’ भन्दै यो प्रस्ताव अब पोलिटब्युरो र केन्द्रीय कमिटीमा जाने जानकारी दिएका छन्। तर, यी छलफलहरू पनि अध्यक्षको ‘इच्छा’ भन्दा बाहिर जाने सम्भावना न्यून छ।

महासचिव शंकर पोखरेलले ‘विधि निर्माणको अन्योल अन्त्य भएको’ र ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ’ भन्दै अध्यक्षको निर्णयलाई ‘प्रशंसा’ गरेका छन्। यसबाट प्रस्ट हुन्छ कि ‘विधि’ र ‘एकता’ को नारा अध्यक्ष ओलीको ‘अखण्ड नेतृत्व’ लाई सुदृढ पार्ने हतियार मात्रै बनेको छ।

एमालेले पदाधिकारीको संख्या १५ जनामा घटाउने र केन्द्रीय कमिटीको संख्या २५१ बनाउने ‘तयारी’ गरिरहेको छ। संख्या घटाउने यो कदम ‘कस्मेटिक’ मात्रै हो, जसले पार्टीलाई ‘साँघुरो’ बनाएर ओलीको पकड थप बलियो बनाउने र अरूलाई ‘पाखा’ लगाउने रणनीति लुकेको छ। एमालेको यो विधान संशोधनले पार्टीलाई ‘लोकतान्त्रिक अभ्यास’ भन्दा पनि ‘केन्द्रीयता’ र ‘व्यक्तिगत शक्ति’ मा आधारित बनाउने दिशामा धकेलेको स्पष्ट देखिन्छ।

२०८२ श्रावण २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ