काठमाडौं : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को फराकिलो तथा सहज जित निकालेको हो।
यो नेपालले श्रीलंकाविरुद्ध निकालेको लगातार दोस्रो ७-० को जित हो। यसअघि पनि नेपालले तेस्रो खेलमा श्रीलंकामाथि नै ७-० को सहज जित निकालेको थियो। आजको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दै बलियो अग्रता लिएको थियो भने दोस्रो हाफमा थप ३ गोल गरेर जित सुनिश्चित गरेको हो।
प्रतियोगितामा नेपालको यात्रा बलियो देखिएको छ। पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको नेपाल दोस्रो खेलमा भने बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। सात अंक बटुल्दै शीर्ष दुईमा स्थान सुरक्षित गरेको नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ। लगातारको फराकिलो जितले नेपाली टोलीको मनोबल उच्च बनेको छ र उपाधि यात्राका लागि थप उत्साहित बनाएको छ।
२०८२ श्रावण १, बिहिबार