काठमाडौं : घुस प्रकरणमा नाम जोडिएर आलोचित बनेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो पदबारेको प्रश्नमा रहस्यमय जवाफ दिएका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्ने क्रममा उनले मन्त्रिपरिषद् पुनर्गठनको सहमति रहेको र त्यसैअनुसार परिवर्तन हुने संकेत दिए। उनको यो भनाइलाई आफ्नो ‘बचाउ’का रूपमा हेरिएको छ।
पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीले उनलाई ‘यस्तै अडियोका कारण मन्त्री पद गयो नि’ भनी सीधा प्रश्न सोधेका थिए। यसको जवाफमा मन्त्री अधिकारीले भने, “मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन। एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो। सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ। त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो। सबै हुन्छन् कि। त्यो एउटा पाटो हो।”
उनको यो भनाइले मन्त्रिमण्डलमा एक वर्षपछि हेरफेर गर्ने पूर्वसहमति रहेको र उनको पद पनि त्यसैको अधीनमा रहेको संकेत गर्छ। यस्तो अवस्थामा आफ्नो संलग्नताबारे सोधिएको प्रश्नलाई उनले घुमाउरो पाराले मन्त्रिपरिषद्को भविष्यमा लगेर जोडेको देखिन्छ।यद्यपि, उनले आफू पदमा रहुन्जेल जिम्मेवार तरिकाले काम गर्ने प्रतिबद्धता दोहोर्याए। “जहिलेसम्म होइन्छ आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो। जतिबेला जुन जिम्मेवारीमा रहन्छ त्यही अनुसार अगाडि बढिन्छ,” उनले भने।
घुस प्रकरणमा आफ्नो संलग्नता नरहेको र दोषी पाइए कारबाही भोग्न तयार रहेको उनको पुरानै दाबीलाई उनले यसपटक पनि दोहोर्याए। तर, मन्त्रिपरिषद् पुनर्गठनको ‘सहमति’ बारेको उनको टिप्पणीले अहिलेको राजनीतिक परिस्थिति र सरकारभित्रको शक्ति सन्तुलनबारे नयाँ बहस छेडिदिएको छ। के उनको यो भनाइ आगामी पुनर्गठनमा आफ्नो पद जोगिने वा नजोगिने भन्नेतर्फको संकेत हो? वा, यो केवल विवादबाट उम्कने एउटा कूटनीतिक चाल मात्र हो?
२०८२ श्रावण १, बिहिबार