+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल आज फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको खोजीमा

अत्रिदेव खबर
२०८२ श्रावण १, बिहिबार

बंगलादेश : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकाको सामना गर्दैछ। डबल राउन्ड रोबिन लिग प्रणालीमा भइरहेको यस प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो, जुन उनीहरूबीचको लगातार दोस्रो भेट पनि हो।

मंगलबार भएको अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएका खेलहरू भारी वर्षाका कारण मैदान बिग्रिएपछि अबका चार खेलहरू (सातौं, आठौं, नवौं र दशौं) बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा सारिएका छन्। मंगलबारको खेलमा पनि भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो, जसले गर्दा बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो। नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो।

प्रतियोगितामा नेपालको यात्रा मिश्रित देखिएको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो। अर्कोतर्फ, श्रीलंकाको प्रदर्शन कमजोर देखिएको छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो।

हालको अंकतालिकाअनुसार, ३ खेलमा ९ अंकसहित बंगलादेश शीर्षस्थानमा छ। नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहँदा ३ अंक भएको भुटान तेस्रो स्थानमा छ। चार टोली सहभागी यस च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ र अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। आजको खेलमा नेपाल श्रीलंकाविरुद्ध लगातार दोस्रो जित निकाल्दै उपाधि दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ।

 

२०८२ श्रावण १, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ