लस एन्जलस : विश्वको सबैभन्दा ठूलो खेलकुद महोत्सव ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ। सन् १९०० मा पेरिस ओलम्पिकमा पहिलो र एक मात्र पटक समावेश भएको क्रिकेट अब सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलमा फेरि फर्किने भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले क्रिकेटलाई टी-२० स्वरूपमा समावेश गर्ने निर्णय गरेसँगै यसको तालिका (सेड्यूल) पनि सार्वजनिक भएको छ। लस एन्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना शहरको फेयरग्राउन्ड्स स्टेडियममा क्रिकेटका खेलहरू आयोजना हुनेछन्। पुरुष र महिला दुवैतर्फ ६-६ टोलीले टी-२० स्वरूपमा प्रतिस्पर्धा गर्नेछन्।
पुरुष र महिलातर्फ कुल ९०-९० खेलाडी (१२ टोलीमा १५-१५ खेलाडी) सहभागी हुनेछन्, जसले कुल १८० खेलाडीलाई ओलम्पिक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ। सेड्यूलअनुसार सन् २०२८ को जुलाई १४ देखि अगस्ट ११ सम्म सञ्चालन हुने ओलम्पिकमा क्रिकेट जुलाई २६ देखि अगस्ट १० भित्र खेलाइने छ।
सन् १९०० मा पेरिस ओलम्पिकमा क्रिकेट केवल एक प्रदर्शनी खेलको रूपमा समावेश भएको थियो, जहाँ ग्रेट ब्रिटेनले फ्रान्सलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो। त्यसयता क्रिकेट ओलम्पिकमा समावेश भएको थिएन। सन् २०२३ मा आईओसीले क्रिकेटसहित पाँच नयाँ खेललाई लस एन्जलस ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको थियो, जसलाई क्रिकेटप्रेमीहरूले ऐतिहासिक कदम मानेका छन्।
नेपालको सम्भावना कति?
हालसम्मको अवस्था हेर्दा नेपालले सन् २०२८ को ओलम्पिक क्रिकेटमा खेल्ने सम्भावना कम देखिए पनि असम्भव भने छैन। ओलम्पिक क्रिकेटमा सहभागी टोलीको संख्या सीमित भएकाले नेपालको सहभागिता कठिन देखिएको हो।
आयोजक अमेरिका स्वतः छनोट हुनेछ। बाँकी स्थानहरू आईसीसीको टी-२० वरियतामा आधारित छनोट वा छुट्टै छनोट प्रतियोगिताबाट भरिने सम्भावना छ। नेपाल हाल आईसीसी टी-२० आई वरियतामा पुरुषतर्फ १८औं स्थानमा छ। शीर्ष १० भित्र नपर्नाले सिधा छनोट हुने नेपालको सम्भावना न्यून छ।
आईसीसी वा आईओसीले छुट्टै छनोट प्रतियोगिता राखेमा नेपालले सहभागिता जनाउने मौका पाउन सक्छ। तर, त्यसका लागि उत्कृष्ट प्रदर्शन गरेर बलिया टोलीहरूलाई पनि पाखा लगाउनुपर्छ। अथवा, वरियतामा छलाङ मारेर शीर्ष १० भित्र अटाए त्यो सम्भावनाको ढोका खुल्न सक्छ। महिला टोलीको सन्दर्भमा सन् २०२८ भित्र ओलम्पिक छनोटमा पर्न गाह्रो देखिन्छ।
आईसीसीका अनुसार, ओलम्पिकमा क्रिकेटको समावेशले यो खेललाई उत्तर अमेरिका र अन्य गैर–परम्परागत क्रिकेट बजारमा विस्तार गर्न मद्दत पुग्नेछ। “यो क्रिकेटको विश्वव्यापीकरणका लागि ठूलो कदम हो,” आईसीसीले एक विज्ञप्तिमा भनेको छ।
२०८२ अषाढ ३२, बुधबार