+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपल्लो मुस्ताङमा हिमताल फुटेर बाढीको कहर: डेढ करोड बढीको क्षति, सात पुल बगायो

अत्रिदेव खबर
२०८२ अषाढ २६, बिहिबार

मुस्ताङ : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमन सुरु भएको छ। यो अनुगमन लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङको नेतृत्वमा बुधबार गरिएको हो। यसमा उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरू संलग्न थिए।

यस बाढीले लोमान्थाङ गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुर्‍याएको छ, जसमा तीनवटा पक्की पुल पनि समावेश छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार यसबाट डेढ करोड रुपैयाँभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मंगलबार साँझ लोमान्थाङ—४, चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एउटा फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ। बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा भने कुनै क्षति नभएको बताइएको छ।

बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलहरूमा क्षति पुगेको छ। यसले रिङरोड सडकको सवारी आवागमन अवरुद्ध भएको छ, जसले गर्दा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

यस बाढीको मुख्य कारण हिमताल फुटेको हुन सक्ने आशंका गरिएको छ। लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा आएको यो बाढी असामान्य देखिएको छ, किनकि बाढी आउँदा त्यस क्षेत्रमा वर्षा भएको थिएन। लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले स्थानीयहरूसँग जानकारी लिँदा पनि उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको बताएका छन्। उनले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुन सक्छ, त्यो हो हिमताल फुट्नु।”

लोमान्थाङ—२, छोसेरस्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले पनि बाढीको कारण पत्ता लगाउन गएको टोलीले हिमताल फुटेको हुनसक्ने अनुमान गरेको बताए। यार्सा संकलन गर्नेहरूका अनुसार चुम्जुङस्थित छुआमा खोलाको मुहानमा धेरै हिमतालहरू छन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पनि उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमताल रहेको जानकारी दिए। जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमतालमा क्षति पुर्‍याउने सम्भावना पनि उत्तिकै छ, जसले यस्ता आकस्मिक बाढीहरू निम्त्याउन सक्छ।

यो प्राकृतिक विपद्ले उपल्लो मुस्ताङको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। यसको दीर्घकालीन असर र भविष्यमा यस्ता घटनाहरूबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बारेमा थप अनुसन्धान र छलफल आवश्यक देखिन्छ।

 

 

 

 

२०८२ अषाढ २६, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २६, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ