चौमाला : कैलालीको गौरीगंगा नगरपालिका–९ मा अवस्थित बिहानी क्षितिज इङ्ग्लिस स्कुललाई, एसईई २०८१ मा उत्कृष्ठ नतिजा हासिल गरेकोमा गौरीगंगा नगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ।
चौमालास्थित नगरपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा विद्यालयलाई “सम्मान पत्र” प्रदान गर्दै, नगर क्षेत्रका सबै विद्यालयहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेकोमा शुभकामना र बधाई व्यक्त गरिएको हो।
सो सम्मानपत्रमा नगर प्रमुख देविदत्त कँडेल, नगर उप–प्रमुख भोज बहादुर बम, र उप–सचिव हरीश पन्तको संयुक्त हस्ताक्षर छ, जसले विद्यालयको आगामी सफलताको कामना गरेको छ।
सम्मानग्रहण पछी विद्यालयकी संस्थापक तथा प्रिन्सिपल कल्पना भुसालले भनिन्“यो सम्मान हाम्रो कडा मिहिनेत, समर्पण र विद्यार्थीहरूसँगको सहकार्यको फल हो। हामी अझ उत्कृष्टता हासिल गर्न निरन्तर प्रयत्नशील रहनेछौं।”
गौरीगंगा नगरपालिकाको यो सम्मानले गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा समर्पित संस्था र व्यक्तित्वहरूलाई कदर गर्ने प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।
यसले स्थानीय शैक्षिक वातावरणमा नयाँ ऊर्जा र उत्साह थपेको छ।
२०८२ अषाढ २२, आईतबार