+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रम्पको चेतावनी: जोहरान ममदानी मेयर बने न्युयोर्कको अनुदान रोकिने, ‘कम्युनिस्ट र यहुदी विरोधी’ आरोप

अत्रिदेव खबर
२०८२ अषाढ १७, मंगलबार

काठमाडौं  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको मेयरमा जोहरान ममदानीले जित हासिल गरेमा संघीय अनुदान रोक्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीबाट मेयरका उम्मेदवार बनेका ममदानीले प्रारम्भिक चरणमा जित निकालेपछि ट्रम्पको यो भनाइ आएको हो ।

ट्रम्प मात्र होइन, उनको रिपब्लिकन पार्टीले ममदानीलाई ‘कम्युनिस्ट र यहुदीविरोधी’ भन्दै उनी न्युयोर्कको मेयर बन्नु अमेरिकाका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेको छ । रिपब्लिकन सांसद एन्डी ओगल्सले त ममदानीलाई ‘लिटिल महमूद’ को संज्ञा दिँदै उनको नागरिकता खारेज गर्न माग गरेका छन् ।

ओगल्सले भनेका छन्, “जोहरान ममदानी यहुदी विरोधी, समाजवादी र कम्युनिस्ट हुन् । उनले सर्वोत्कृष्ट सहर न्युयोर्कलाई बर्बाद गर्नेछन्, उनलाई उनकै देश (भारत) मा फर्काउनुपर्छ । यसकारण म उनको नागरिकता खारेजको प्रक्रिया थाल्न माग गर्छु ।” ओगल्सले ममदानीमाथि आतंकवादीलाई समर्थन गरेको आरोप लगाउँदै आप्रवासीहरूलाई अमेरिकामा नरोक्ने हो भने यस्तै व्यक्तिहरू नेतृत्वमा आउन सक्ने खतरा औंल्याएका छन् । रिपब्लिकन पार्टीकै अर्का सांसद नन्सी म्याकले जोहरान ममदानीको कुर्ता-पाइजामा लगाएको तस्बिर सेयर गर्दै सेप्टेम्बर ११, २००१ को ट्वीन टावर आक्रमणको प्रसंग उठाएकी छिन् । उनले भनेकी छिन्, “सेप्टेम्बर ११ पछि हामीले भनेका थियौं, हामी कहिल्यै भुल्ने छैनौं । तर आज मलाई लाग्दैछ कि हामीले भुल्यौं, यो निकै दुःख कुरा हो ।”

सेप्टेम्बर ११, २००१ मा भएको आतंकवादी हमलाका बेला ममदानी ९ वर्षका थिए र उनी म्यानहटनमै बस्थे । उक्त हमलामा करिब २,८०० मानिस मारिएका थिए । रिपब्लिकन नेताहरूले २४ वर्षअघि अमेरिकाको सबैभन्दा ठूलो सहरमा इस्लामिक आतंकवादीले हमला गरेको र अहिले त्यही तरिकाले इस्लामिक र कम्युनिस्टहरू उक्त सहर कब्जा गर्न तयार भएको टिप्पणी गरेका छन् ।

जोहरान ममदानीमाथि भइरहेको ‘इस्लामिक फोबिया’ र ‘कम्युनिस्ट फोबिया’ युक्त आरोपले डेमोक्रेटिक पार्टीमा पनि तरंग उत्पन्न गरेको छ । अमेरिकामा यसअघि बराक ओबामाले पनि यस्तै आरोप खेपेका थिए, जहाँ डोनाल्ड ट्रम्पले उनको महजब (धर्म) लाई लिएर प्रश्न उठाएका थिए । केन्याली बाबुआमाबाट जन्मिएका ओबामा मुस्लिम भएकाले अमेरिकाको राष्ट्रपति बन्न नहुने तर्क ट्रम्पको थियो ।

जोहरान भारतीय बाबुआमाबाट जन्मिएका अमेरिकी नागरिक हुन् । उनकी आमा चर्चित फिल्ममेकर मीरा नायर हुन् भने बुबा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् । हाल न्युयोर्क एसेम्बलीका सदस्य रहेका ममदानी मेयरको दौडमा अगाडि छन् । उनी डेमोक्रेटिक पार्टीभित्रको प्रतिस्पर्धाबाट अगाडि बढेका हुन् ।

उनले भारतको केरल राज्यस्थित थिरुवनन्तपुरमकी २१ वर्षमै मेयर भएकी आर्या राजेन्द्रनको समाचार सेयर गर्दै न्युयोर्कलाई पनि यस्तै मेयर चाहिएको बताएका थिए । राजेन्द्रनले केरलाको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) बाट थिरुवनन्तपुरमको मेयर पदमा विजय प्राप्त गरेकी थिइन् । उक्त पोस्ट सेयर गर्दै जोहरानले लेखेका थिए- “त्यसैले अब न्युयोर्कलाई कस्तो खालको मेयर चाहिन्छ ?” भारतीय कम्युनिस्टहरूले ममदानीलाई अग्रिम बधाई दिइरहेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका नीतिका भने कडा आलोचक हुन् ।

२०८२ अषाढ १७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ