+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीका नदीमा मनसुनसँगै डल्फिन देखिन थाले, पर्यटनमा वृद्धि

अत्रिदेव खबर
२०८२ अषाढ १२, बिहिबार

कैलाली : मनसुनको आगमनसँगै कैलालीका नदीहरूमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन्। जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा यी जलीय जीवहरू देखा परेका हुन्। डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका छन्। गत वर्ष असार पहिलो साता डल्फिन आएका भए पनि यस वर्ष ढिलो पानी परेकाले केही ढिलो देखिएको उनले जानकारी दिए।

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार कैलालीको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीहरूमा डल्फिन देखिने गर्दछन्। भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिनहरू मनसुन अवधिभर करिब तीन महिनाभन्दा बढी समयसम्म कर्णालीका सहायक नदीमा बस्ने गर्दछन् र मनसुन सकिएपछि पुनः कर्णाली नदीमा फर्कने गर्दछन्।

यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा यहाँ आउने गर्दछन्। स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्र डल्फिनका लागि उपयुक्त मानिन्छन्। यहाँ ‘प्लानिभेस्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ, जुन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ प्रजाति हो।

हरेक वर्षायाममा डल्फिनको आगमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए। हालै डल्फिन देखिन थालेकाले अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि नियमित रूपमा पुग्ने अपेक्षा गरिएको छ।

पर्या-पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले काम गरिरहेका छन्। विश्व वन्यजन्तु कोष (WWF), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर लगायतका संस्थाहरूले संरक्षणका काम गरिरहेका छन्। साथै, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा योगदान पुर्‍याइरहेका छन्।

यस क्षेत्रमा चार पटक डल्फिन महोत्सवको आयोजना पनि गरिएको थियो। कर्णालीमा वि.सं. २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो र स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले यसको प्रचारप्रसार तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटकका साथै भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिका लगायतका तेस्रो मुलुकका नागरिक पनि यहाँ आउने गर्दछन्।

२०८२ अषाढ १२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ